Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीआमाहरू सम्मानित

आमाहरू सम्मानित

नेपाली संवाददाता/न्यु ह्याम्सर

स्थानीय हुक्सेटस्थित मेन्टेनिङ्ग इन्डिपेन्डेन्स नामक माता-पिताहरूको दिवा-सेवा (डे केयर) संस्थामा शनिबार (अप्रिल १४) मा आमाहरूलाई सम्मान गरिएको छ । माता तीर्थ औंसीको अवसरमा उक्त कार्यक्रम गरिएको उक्त कार्यक्रम ‘के दिएर मनाऔं शिवलाई रु शिव मान्दैनन्’ बोलको भजन गाएर प्रेम खतिवडा शुरू गर्नुभएको थियो ।

सुमात्रा सुवेदी, राजेश कोइराला, विष्णु कोइराला, विवेक राई, विष्णु खड्का आदिले आमाको महिमा गर्दै मन्तव्य दिनुभएको थियो । मेन्टेनिङ्ग इन्डिपेन्डेन्सका सञ्चालक कायल वर्थले अमेरिकामा मनाइने ‘मदर्स डे’को इतिहास सुनाएका थिए ।

आमाहरु सम्मानित/ फोटो : मेन्टेनिङ्ग इन्डिपेन्डेन्स

कार्यक्रममा आमाहरू, नर्स, कर्मचारी, स्थानीय समाजसेवीहरूले आमाहरूलाई सम्मान गर्नुभएको थियो । मेन्टेनिङ्ग इन्डिपेन्डेन्सका सञ्चालक कायल वर्थकी आमा लिजलाई पनि सम्मान गरिएको थियो । हरिमाया खतिवडा, सेतीमाया मगर, नरमाया दर्जी, आदिले भजन गाउनुभएको थियो । सामुहिक फोटो खिचाइ, संस्थामा कार्यरत ३ नर्स बहिनीहरूको सम्मान, तथा गुरू सुवेदीको व्यापारिक प्रवचनसहित कार्यक्रम सकिएको थियो ।

सन् २०१५ देखि हुक्सेटमा सञ्चालनमा आएको मेन्टेनिङ्ग इन्डिपेन्डेन्समा ९४ जना नेपाली-भाषी तथा २५ हिस्प्यानिक माता-पिताहरूले सेवा पाउँदै आउनुभएको छ । नेपाली-भाषीतर्फ ४६ पुरुष तथा ४८ महिला हुनुहुन्छ ।  यहाँ म्यानचेस्टर र कंकर्डका माता-पिताहरूलाई सेवा प्रदान गरिन्छ ।

न्यु ह्याम्सर राज्य, अमेरिकाको उत्तर-पूर्वी राज्य हो । यस राज्यको जनसंख्या करिब १३ लाख ३० हजार छ भने नेपाली-भाषी (नेपाली तथा भूटानी) को संख्या करिब ५ हजार छ । अमेरिकाको उत्तरपूर्वमा पर्ने छ राज्यहरू: ‘मेन’, ‘न्यु ह्याम्सर’, ‘भर्मन्ट’, ‘म्यासाचुसेट्स’, ‘रोड आइल्यान्ड’ र ‘कनेटीकट’ लाई सामूहिक रूपमा ‘न्यु इंगल्याण्ड’ भनिन्छ । यस क्षेत्रमा नेपाली-भाषीको संख्या पातलो-पातलै छ ।

परम्परागत मातातीर्थ औंसी (मातृ औंसी) वैशाख कृष्ण औंसीका दिन आ-आफ्ना आमाप्रति श्रद्धा, भक्ति एवं सम्मान गरी मनाइन्छ । वैशाख कृष्ण औंसीका दिन मातृ औंसी, मातृ–दिवस, माता तीर्थे औंसी तथा आमाको मुख हेर्ने जस्ता नामले मनाइने यस पर्वमा प्रत्येक छोराछोरीले आमालाई आ-आफ्नो गच्छेअनुसार स्वादिष्ट व्यञ्जन, कपडा, सगुन र उपहार दिने गर्दछन् । आमा नहुनेहरुले दिवंगत आमाको नाममा तर्पण श्राद्ध तथा श्रद्धाञ्जलि अर्पण गर्दछन् ।

‘पराजिका’ नामक धर्मग्रन्थको ‘बुद्धोक्त वचनम्’ मा मातातीर्थ औंसीका दिन प्रत्येक छोराछोरीले शुद्ध मनले आमालाई प्रसन्न एवं खुशी तुल्याई प्राप्त गरेको आशीर्वादबाट ठूलो फल प्राप्त हुने र आमा परलोक हुने छोराछोरीले मातातीर्थ वा अन्य तीर्थमा नुहाई तर्पण, सिधा, दान तथा पिण्ड दान गरेमा दिवंगत आमा प्रसन्न भई दिएको आशिर्वादका प्रभावले छोराछोरी सुसम्पन्न भई सुखभोग गर्न पाउने र सन्तानको कल्याण हुने उल्लेख छ ।