गायक विकास शिवाको ‘भूटान १९९०ज ट्रयु बेस‘ शिर्षकको र्याप गीत युट्युबमा मात्र ५१ हजारभन्दा बढी पटक हेरिएको छ । उनी भन्छन्, ‘सिधै डाउनलोड गरेर युट्युबमा कम भएको हो । अर्को कुरा युट्युबभन्दा अरू माध्यम सजिला छन् । फेसबुक, ट्वीटर आदिमा गन्ती गर्ने हो भने यसलाई दश लाखभन्दा बढी हेरेको देखिन्छ ।‘ बामा (भूट्निज अमेरिकन म्युजिक एशोसियसन) को सदस्य विकास यसलाई राष्ट्रवादी गीतको संज्ञा दिन्छन् । मामा सुवास तामाङ्ग, कमल राई, सुरज शिवा, सरोज बर्देवा, सान राई आदिको सहयोगमा तयार पारिएको यो र्याप गीतको रचनाले उचाइ पाएका २६ वर्षे विकास यस्तै विधामा लागेका नयाँ गायकलाई एकथलोमा उभ्याएर प्रतिस्पर्धा गराउने सपना देख्छन् । उनको जीवन, गत फेब्रुअरीमा सार्वजनिक यो गीत र आगामी दिनका योजनाबारे अक्षरिका तथा भूटान न्युज सर्भिसका लागि राजेश कोइरालासँग गरिएको कुराकानीः
० आफ्नो जन्म, परिवार आदिबारे बताउनुहोस् न, थोरै ।
मेरो जन्म भूटानको चिराङ्ग लामीडाँडामा भएको हो । मेरो बुबा बुद्धिमान शिवा र आमा मीना शिवा हो । म ४ दिदी–बहिनीको म एउटा माइती अर्थात् बुबा–आमाको एक्लो छोरो हुँ ।
० नेपाल कहिले आउनु भयो ? कहाँ बसियो ?
करिब २ वर्षको हुँदा नेपाली–भाषीको भूटान निष्कासनमा परेर अरु हजारौं परिवार जस्तै हाम्रो परिवार नेपाल आएको हो । हामीलाई ६ महिना जति बेलडाँगीमा राखियो । अनि खुदुनाबारीमा बस्यौं । खुदुनाबारी सेक्टर ‘बी‘को छाप्रो नम्बर ५२ मा बसियो । त्यहाँ पढियो ।
० अनि अमेरिका ?
पुनर्स्थापनाको सिलसिलामा सन् २०१२ फेब्रुअरीमा अमेरिका आएको हुँ । म नर्थ क्यारोलाइनाको सार्लोट्टमा आएर बसोबास गरिरहेको छु ।
० यो गीत लेख्न कति समय लाग्यो ? प्रेरणा, स्रोत र सहयोगी के के हुन् ?
गीत लेख्न ३ महिना त गजबैले लाग्यो । गीतको प्रेरणा हाम्रा अग्रज हुनुहुन्छ । मैले शिविरमा रहँदा लेखिएका किताब आदिलाई स्रोतका रूपमा लिएको छु । लेखिसकेपछि मैले मामा सुवास तामाङ्गको सहयोग पाएँ । उहाँले मलाई लेखाइको सम्पादन गर्न सघाउनुभयो ।
० यो गीत किन यस्तो लेखियो ?
पुनर्वासमा आएपछि आफ्नो मूल देशको कथा यहाँका युवा पुस्ताले नबिर्सिउन भनेर उहाँहरूलाई कथा सुनाउन गीत तयार पारेको हुँ ।
० यो गीत तपाईंको कतिऔं हो ? किन र्याप गायन रोज्नुभयो ?
यो गीतभन्दा पहिले मैले अरूका गीत मात्र गाएको थिएँ । मेरो आफ्नो रचना, संगीत, र संयोजनको पहिलो गीत हो । यस अर्थमा मेरो आफ्नो गीत हो । र्याप गीत मलाई मनपर्छ, भनौं मेरो विधा हो । म आधुनिक र पप गीत पनि गाउँछु ।
० के अरू र्याप गायनमा लागेकालाई प्रेरणा दिन सक्छ ?
भूटानी युवाले कमै र्याप गाएका छन् । ‘१९९०ज’ आएपछि धेरै र्याप गायकहरू सम्पर्कमा आउनु भएको छ । उहाँहरूले मञ्च पाउनुभएको छैन । उहाँहरूसहित र्यापको छवि बनाउन सकिन्छ । घरमा मात्र सीमित र्याप गायकलाई कसरी बाहिर ल्याउने, चिनाउने, मञ्च दिन सकिन्छ भनेर सोचिरहेको छु । उहाँहरूलाई स्थापित गराउनु पनि छ । एउटा फाउन्डेसन बनाउने सोच छ ।
० ‘१९९०ज‘ को तयारी कस्तो रह्यो ?
म यसका लागि नर्थ क्यारोलाइलाबाट जर्जिया जानुपर्यो । छोटो समयमा धेरै काम सक्ने एकखालको दबाव थियो । पहिले अडियो तयार गरियो । जर्जियाको अट्लान्टास्थित रिद्म स्क्रिन क्रियसन स्टुडियो (सन् २०१२ मा स्थापित) मा एक रातभरमा अडियो बन्यो । उक्त स्टुडियोका कमल राईको ठूलो सहायता पाएँ । कमलले मलाई डमी पठाइदिनुभएकाले त्यहाँ पुग्दा म तयार नै भएको रहेछु । त्यहीँ भिडियो पनि बनायौं । भिडियो तयार पार्न ३–४ दिन लाग्यो । सन् २०१८ फेब्रुअरी १७ मा जर्जियाको अट्लान्टामा जोक प्रोडक्सनको एउटा कार्यक्रम थियो । हामीले ६ मिनेटको समय माग्यौं, र त्यही कार्यक्रममा यो गीत सार्वजनिक गर्यौं ।
० यसका दृश्यहरू के आफैं छायाङ्कन गरेको हो ?
होइन । हामीले साभार गरेका हौं । चलचित्र ‘झुपडीको जिन्दगी‘, ‘टुक्रेको मुटु‘ आदिका क्लिपहरू प्रयोग गरिएको छ । शुरुमा हामीले नसोधी प्रयोग गर्यौं । पछि उहाँले राम्रो काम भनेर एक किसिमको सहमति दिनुभयो । उहाँहरूप्रति आभारी छौं ।
० दर्शक–श्रोताको प्रतिक्रिया कस्तो पाउनुभयो ?
प्रतिक्रिया राम्रो छ । सुधार्नु पर्ने कुरा पनि कसै–कसैले भन्नुभएको छ । हामीलाई प्रशंसा गर्ने आधार भनेको ३० वर्षको इतिहास एउटा ५ मिनेट र आधा समयको गीतमा समेट्ने कोशिस गरेका हो, यो एउटा सिंगो किताब जस्तो छ । तर कति कुरा त छुट्यो नि !
० अब दर्शक–श्रोताले तपाईंबाट के आशा गर्छन् ?
म ‘द रेफ्युजी‘ भनेर अर्को गीत लिएर चाँडै आउँदैछु । देश छाडेपछि शरणार्थी जीवन, परिस्थिति, के कसरी के के भोगियो ? साथीभाईको मोह, रमाइला पल, दुःखका दिन सुनाउने तयारी गर्दैछौं । हामी सबैलाई शिविरमा पुर्याउन खोज्दैछौं । ती दिन सम्झाइदिनु छ । यसमा पुनर्वासमा परिवार छुट्टिएका प्रसंग पनि छन् । सबैलाई छुने खालको छ । पहिलाको स्तरमा बन्ला र नबन्ला भन्ने डर भएकाले गीत लेखेर छेस्का केलाउँदैछौं, सम्पादन गर्दैछौं ।
(यो अन्तर्वार्ता अक्षरिकाको अगस्त २०१८ मा प्रकाशित भएको हो । यसका धेरै अंश गायकसँग गरिएको कुराकानी र थोरै अंश इन्टरनेटमा गरिएको अनुसन्धानमा आधारित छ ।)