न्यु ह्याम्सर । विश्व भूटानी हिन्दू संगठनले आइतबार (अक्टोबर १३, २०१८) एक विज्ञप्ति जारी गर्दै २०७५ सालको विजया दशमी (दशैं) र शुभ दीपावलीको पुनीत अवसरमा विश्व कल्याणका साथै समस्त मानवको सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गरेको छ ।
अध्यक्ष कमल धिमाल तथा प्रवक्ता टेकनाथ रिजालको नाम समावेश विज्ञप्तिमा अगाडी भनिएको छ, ”आफ्नो खुशीका निम्ति र चाडपर्व मनाउने बहानामा प्राणीहरूको हत्या गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न समेत अपिल गर्दछौं । साथै सम्पूर्ण धार्मिक संस्थाहरूमा जनचेतना गराइदिनु हुन समेत अनुरोध गर्दछौं ।”
विश्व भूटानी हिन्दू संगठन (Global Bhutanese Hindu Organization) को स्थापना सन् २०१३ मा भएको हो । यो अमेरिकामा गैरनाफामुलक संस्थाका रूपमा दर्ता छ ।
सन् २०१८ को सेप्टेम्बर अन्तसम्म अमेरिकामा पुनर्स्थापित भूटानीको संख्या ९६ हजार १ सय ४२ पुगेको स्टेट डिपार्टमेन्टको तथ्याङ्कले उल्लेख छ । उक्त डिपार्टमेन्टको अर्को तथ्याङ्कअनुसार पुनर्स्थापित भूटानीमध्ये सबभन्दा धेरै हिन्दू धर्मावलम्बीहरू ५५ हजार १ सय ६९ (५७.४० प्रतिशत) हुनुहुन्छ भने २१ हजार १ सय ९३ बौद्ध धर्मावलम्बी (२२.०५ प्रतिशत), १० हजार ४ सय ६६ इसाई (१०.८९ प्रतिशत), र ९ हजार २ सय ७७ किराँत धर्म (९.६५ प्रतिशत) मान्नेहरू हुनुहुन्छ ।