पेन्सलभेनिया । ओहायो राज्यको कोलम्बसमा यसै महिना गीता आध्यात्मिक सम्मेलन हुने भएको छ । जुलाई २६-२८ (शुक्रबारदेखि आइतबार) का दिन हुने उक्त सम्मेलनमा विभिन्न १६ राज्यबाट हिन्दू संस्थाका प्रतिनिधि र धर्मानुरागीहरूसमेत गरि १ हजार ५ सयभन्दा बढि सहभागि हुनेछन् ।
विश्व भूटानी हिन्दू संगठन र वैदिक सेवा समाज कोलम्बसले संयुक्त रुपमा आयोजना गर्ने उक्त सम्मेलनका मुख्य आकर्षणहरूमा विभिन्न गुरुजन/मान्यजनबाट प्रवचन, विभिन्न शहरका भजन मण्डली वा धार्मिक संस्थाहरूबाट झाँकीसहित भजन प्रस्तुत, बालन/संगिनी/भजनमा नृत्यहरू, निःशुल्क गीता पुस्तक वितरण तथा पुरस्कार/उपहार वितरण छन् । सम्मेलन स्थानीय ४०७७ कार्ल रोड, कोलम्बस, ओहायो ४३२२४ (4077 Karl Rd, Columbus, Ohio 43224) मा हुँदैछ । सम्मेलनमा करिब १५ हजार अमेरिकी डलर खर्च हुने अनुमान छ ।
कार्यक्रमको उद्देश्य प्रकाश पार्दै भनिएको छ, ”हाम्रा धेरै भूटानी दाजुभाइ तथा दिदीबहिनी, जो कतिपय भूटानकै जेलमा मर्न बाध्य भए भने कतिपय गाउँघरमै पनि मारिएका थिए । यसरी नै भूटानबाट विस्थापित भएपछि माइखोलाको बगरमा पनि हाम्रा सयौँ बालबालिका र वृद्धवृद्धाको दर्दनाक मृत्यु भएको थियो (एकै दिनमा ४५ वटासम्म लाश लगेका याद पनि हामीसँग ताजै छन्) । बिसौँ वर्षको त्यस्तो दयनीय शरणार्थी जीवनपछि पुनर्वासका क्रममा विभिन्न मुलुकमा पुगेपछि पनि हाम्रो समाजमा मानसिक रोगी, आत्महत्या गर्ने र वेपत्ता हुनेहरूको संख्या बढ्दो छ । यसर्थ भूटान, नेपाल र अमेरिकालगायत विश्वका विभिन्न मुलुकमा ज्यान गुमाएकाको मुक्ति र मानसिक रूपमा अस्वस्थ भएकाको मानसिक शान्तिको कामना गर्न १०८ भागवत महापुराण पाठसहित आयोजना गरिने विश्वशान्ति महायज्ञ – २०२० का लागि संकल्प गर्नु रहेको छ ।”
सम्मेलनलाई फ्रिडम होमकेयर एन्ड डे-केयर, मलेक एन्ड मलेक एलएलसी, पाथिभरा ज्वेलर्स, एस इन्स्योरेन्स एलएलसी, ओमेगा होम हेल्थ केयर सर्भिस, ओहायो इम्प्योयमेन्ट एजेन्सी, क्रियटिभ होम केयर, पटेल ब्रदर्श, सुनकोशी टिभीलगायत विभिन्न संस्थाले विभिन्न तरिकाले सफल बनाउन हातेमालो गर्दैछन् ।
संगठनले सन् २०१३ देखि अमेरिकाका विभिन्न राज्यमा यस्तो सम्म्मेलन आयोजना गर्दै आएको छ । उक्त सम्मेलनमा सन् २०२० मा १०८ भागवत् महापुराणसहित विश्वशान्ति महायज्ञका लागि संकल्प गरिने पनि जनाएको छ । विश्व भूटानी हिन्दू संगठन (ग्लोबल भूटनिज हिन्दु अर्गनाइजेसन) को स्थापना सन् २०१३ मा भएको हो । यो अमेरिकामा गैरनाफामुलक संस्थाका रूपमा दर्ता छ । वैदिक सेवा समाज कोलम्बसको स्थापना पनि सन् २०१३ मै भएको हो ।
सन् २००८ देखि सन् २०१८ सम्ममा अमेरिकाका ४० बढि राज्यमा पूर्वी नेपालका पाँच ठाउँका ७ शिविरबाट अमेरिकामा बसाइएका भूटानीको संख्या करिब ९७ हजार पुगेको छ । अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) का अनुसार अमेरिकामा पुनर्स्थापित नेपाली-भाषी भूटानीमध्ये सबभन्दा धेरै हिन्दू धर्मावलम्बीहरू ५७.४० प्रतिशत छन् भने बौद्ध धर्मावलम्बी २२.०५ प्रतिशत, इसाई १०.८९ प्रतिशत, र किराँत धर्म ९.६५ प्रतिशत मान्नेहरू छन् ।