- अर्जुन प्रधान
काठमाण्डौको बौद्धमा आयोजित एउटा बैठकमार्फत डुक नेशनल कंग्रेसले बहुमतका साथ पार्टीको अध्यक्ष पदमा केजाङ लेन्डुपलाई निवार्चित गरेको जानकारी पार्टी महासचिव कर्म डुप्थोबद्धारा हस्तक्षरित गत आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘‘भूटानको मंगर जिल्लामा जन्मिएका ४८ बर्षिय केजाङ लेन्डुप सन् १९९४ मा प्रजातन्त्रप्रतिको आफ्नो उत्कट चाहनालाई जनताको आवाज बनाउन राजनीतिको मैदानमा ओर्लिएका हुन् । सन् १९९४ मा स्वः रोङथोङ क्युनलेको नेतृत्वमा ड्रूक नेशनल कंग्रेसको स्थापनापछि केजाङले लामो समयसम्म पार्टीका जिम्मेवार पदहरूमा आफ्नो कौशल देखाइसकेका छन् । यसअघि महासचिवलागयत उपाध्यक्ष सम्हालिसकेका केजाङ अब पार्टीको अध्यक्षकै रूपमा भूटानी निरंकुश राजतन्त्रविरुद्ध नौलो अभियान लिएर जुट्ने भएका छन्’’, जारी विज्ञप्तिमा भनिएको छ ।
भूटानमा बन्दी बनेको प्रजातन्त्रलाई निरंकुश सत्ताबाट लुछेर जनताको हक-अधिकार सुनिश्चित गर्ने अभियानमा लामो समयसम्म संघर्षशील र जनताको पक्षमा चरम यातनासमेत भोगेर निर्वासनमा आएका पार्टीका संस्थापक अध्यक्ष स्वाः रोङथोङ क्युनले दोर्जीको निधनपछि केजाङलाई अनको जिम्मेवारी सुम्पिएको हो । अध्यक्षको महान कार्यलाई पूर्वजहरूको उपदेश लिँदै लेन्डुपले पूरा गर्ने पार्टीले विश्वास लिएको हुँदा उनलाई बहुमतका साथ अध्यक्षता पदमा निर्विरोध चयन गरिएको पनि विज्ञप्तिमा जनाइएको छ ।
लेन्डुपले लामाबाट सपथ ग्रहण लिएपछि भने,“देश र जनताको न्यायप्राप्तिको अभियानमा सहयोग गर्दै आउने शुभचिन्तक तथा सहकर्मी साथीहरुलाई धन्यवाद दिन्छु । म पूर्ण आत्मविश्वासका साथ संस्थापक अध्यक्षले अगाल्नु भएको प्रजातन्त्रिक अभियानलाई सफलता दिलाउने बाटो अटल रहने छु ।’’ स्वः रोङथोङ क्युनले दोर्जीले भूटानको निरंकुश राजतन्त्रलाई संवैधानिक प्रजातन्त्रसम्म ल्याउनमा महत्वपुर्ण भूमिका खेलेको स्मरण गरउँदै केजाङले भने,‘‘जात-जाति, भिन्न राजनैतिक आस्था, धर्म र संस्कृतिलाई महत्व दिँदै भूटानमा प्रजातन्त्रको स्थापनामा मेरो पार्टीको महत्वपुर्ण सक्रियता रहने छ ।”
हरेक अप्ठारो स्थितिमा आफ्नो पार्टीले देश र जनताको प्रजातन्त्रिक अभियानमा प्रतिबद्ध भई अघि बढ्ने वाचाका साथ पार्टीको सहायक जिम्मेवार पदमा किडुन छोपेल र पेमा तेन्जिनलाई निवार्चित गरेको छ । त्यस्तै महासचिवमा कर्म डुप्थो र साङगे दोर्जी कोषाध्यक्षमा क्रमशः चयन भएका छन् । ड्रूक नेशनल कंग्रेसको युवा भातृ संगठनमा छेवाङ रिञ्जिनलाई चयन गरिएको विज्ञप्तिमा उन्लेख छ ।
आफ्नो पार्टीका संस्थापक शीर्ष नेता रोङथोङ क्युनले दोर्जीको उपचाराधीन अवस्थामा भारतको सिक्किममा अक्टोबर १९ तारिक असामयिक निधन भएपछि पार्टी शोकाकुल घड़ीमा डुबिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।