न्यूजिल्याण्डमा तीनदिने पुराण

26644
384

तेस्रो देश पुनर्वाश कार्यक्रमअन्तर्गत न्यूजिल्याण्डमा पुनर्स्थापित भूटानीहरूले न्यूजिल्याण्डको ४३ मोहेक एभिन्यू, पाल्मर्स्टन नर्थमा अक्टोबर १० मा समापन गर्ने गरी तीनदिने श्रीमद्भागवत पुराण वाचन कार्यक्रम शुरु गरेका छन्।

न्यूजिल्याण्डबाट डोमा काफ्लेले जनाए अनुसार सो पुराणको कथावाचन कार्यमा पण्डितहरू यादव भण्डारी, विष्णुभक्त अधिकारी र शास्त्री इन्द्र भण्डारी सक्रिय रहेका छन्। पाल्मर्स्टन नर्थका मेयर जोनो नेयलरद्वारा उद्घाटन गरिएको सो कार्यक्रमको दौरानमा पाल्मर्स्टन नर्थबाट निर्वाचित सांसद लेयन लीश ग्यालोयले समेत भ्रमणालोकन गरिसकेको जनाइएको छ।

भजन-कीर्तन, प्रवचन तथा कथावाचनको सिलसिला चलिरहेको सो कार्यक्रममा करिब दुई सय भूटानीहरूले उपस्थिति जनाएका बताइएको छ।

यसैबीच न्यूजिल्याण्डस्थित भूटानी समाजले विस्तारै भूटानी समुदाय विस्तारित भइरहेको पाल्मर्स्टन नर्थमा एउटा हिन्दू मन्दिरको आवश्यकताबारे न्यूजिल्याण्ड सरकारको ध्यानाकर्षण गराएको छ भने सरकारको तर्फबाट सकारात्मक प्रतिक्रिया आएको जनाइएको छ।