न्यूयोर्कको बफेल्लो सिटीमा रहेका भूटानीहरूले शनिबार हर्षोल्लासका साथ नेपाली संस्कृतिको महान चाड तीज मनाए। यो कार्यक्रम नै बफेल्लोका भूटानीहरूले गरेको प्रथम सर्वसम्मत सामाजिक कार्यक्रम भएको टिमाई शिविरबाट यहाँ पुनर्स्थापित विष्णु अधिकारीले जनाए।
कार्यक्रममा रातो साडीमा सजिएका नेपाली चेलीहरूले तीजगीतसहित नाचेर सबैलाई नेपाल, भूटान वा भारतकै सम्झना दिलाएका थिए।
चेली-माइतीबीचका दुःख, वेदना र गुनासो पोख्ने मुख्यतः ‘चेलीको चाड’ भनेर चिनिने यो पर्व बफेल्लोमा रहेका भूटानीहरूका लागि भेला हुने र परिचय साटासाट गर्ने अवसर साबित भयो। १६५ लासेल एभेन्यू, केन्मोरस्थित विष्णु काप्रीको निवास परिसरमा आयोजित सो कार्यक्रम हिन्दू विधिसम्मत सम्पन्न भएको थियो।
बफेल्लो हिन्दू किर्तन मण्डलीद्वारा आयोजित सो कार्यक्रममा कम्तीमा ५ सय भूटानी नेपालीहरूको उपस्थिति थियो।
नयाँ ठाउँ, नयाँ परिवेश र परिस्थितिअनुसार भूटानी समाजको गतिविधि र मान्यता पनि फेरिँदै जानुपर्ने जरूरी औंल्याउँदै अब उसो कुनै भेदभाव नराखी भूटानी-नेपालीहरूले एक-आपसमा खुल्ला मित्रता र आत्मीयता साट्न यस्ता सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै अघि बढ्नुपर्ने सो मण्डलीका सद्स्य डिल्लीप्रसाद सिवाकोटीले बताए। सामाजिक, सांस्कृतिक र भाषिक अस्तित्वरक्षाका निम्ति यस्ता क्रियाकलापहरू बहुमूल्य भएका कार्यक्रमका अधिकांश सहभागीहरूको मत थियो।
(भूटान समाचार सेवाका लागि बफेल्लोबाट भक्त घिमिरे)

Thanks for publishing great news of great “TEEJ” Celebration of Bhutanese Nepali hidhu society of Buffalo, this help for the co-operation, unity and upgradation of Hindhuism in Buffalo. Hope Journalist will continue to publish great news in future.
Thanks for evalution of social celebration in Buffalo.by Bhakta Ghimire