विशाल र आनन: मेरो डान्स कप र मेरो भ्वाइस कपका विजयी

26644
879

न्यु ह्याम्सर । ‘मेरो डान्स कप तेस्रो‘ र ‘मेरो भ्वाइस कप पहिलो‘ को उपाधी क्रमश: विशाल राई र आनन राईले जितेका छन् । दुवै प्रतियोगिताको अन्तिम चारबीचको प्रतिस्पर्धा (ग्य्राण्ड फिनाले) अगस्त ४, २०१८ शनिबार ओहायो राज्यको एक्रनमा भएको थियो ।

मेरो डान्स कपतर्फ सुमन विश्वा फर्स्ट रनर–अप, अञ्जु तामाङ्ग सेकेन्ड रनर–अप र कामना पोखरेल चौथा भए भने मेरो भ्वाइस कपतर्फ प्रकाश सिलवाल फर्स्ट रनर–अप, विवेक दियाली सेकेन्ड रनर–अप र टिका घिमिरे चौथा भए । सन् २०१६ पछिका सबै नृत्य प्रतिस्पर्धामा महिलाहरूले मात्र जितेका थिए, उनीहरू: जर्जिया एटलान्टाकी पूर्णी गुरूङ्ग (२०१६), र नर्थ डकोटाकी मनिता मगर (२०१७) हुन् ।

विजयीहरू आधा एसएमएस र आधा निर्णायकबाट छानिएका थिए । विजयीले १० तोला सुनको कप, ३ हजार डलर नगद पुरस्कार आदि पाएका छन् । फर्स्ट रनर–अप, सेकेन्ड रनर–अप र चौथालाई पनि नगद र अन्य पुरस्कार प्रदान गरिएको थियो । यस वर्षका यी दुई ठूला प्रतिस्पर्धामध्ये मेरो डान्स कपको पहिलो प्रतिस्पर्धा २०१६ मा भएको थियो भने मेरो भ्वाइस कप यो वर्ष पहिलो हो ।

एजे स्टुडियोको प्रस्तुति रहेका दुवै प्रतियोगितामा भाग लिनेले गत मार्च १० देखि अप्रिल १५ सम्ममा आवेदन दिएका थिए भने अप्रिल २७ देखि मे २६ सम्म उनीहरूको अनलाइन राउन्ड भएका थिए । एक महिनाको विश्रामपछि जून २६–३० मा भ्वाइस कप र जुलाई १–५ मा डान्स कपको लाइभ राउन्ड छायाङ्कन भएका थिए । जुलाई ६ पछि पालैपालो गर्दै जुलाई २८ मा दुवै प्रतियोगिताको लाइभ राउन्ड सकिएको थियो ।

”अनलाइन राउन्डबाट १२ जना छानिएकामा लाइभ राउन्डबाट क्रमश: ८ र ६ हुँदै ४ अन्तिम प्रतिस्पर्धी आएका हुन्,” फिनाले शुरू हुनुअघि भूट्निज अमेरिकन म्युजिक एशोसियसन (बामा) को बोर्ड सदस्य तथा मेरो भ्वाइस कपको संयोजनमा लागेका अम्बर तुम्बापो सुब्बाले बताए । ”तर बामालाई औपचारिक निम्तो थिएन,” बामा उपाध्यक्ष खेम रिजालले बताए, ”मलाई भूटनिज कम्युनिटी अफ सिन्सिन्याटीका कार्यकारी–निर्देशकका रूपमा निम्तो थियो ।”

पहिलो मेरो डान्स कप विजेता पूर्णी गुरूङ्गले यसपटक गतिलो प्रतिस्पर्धा भएको अनुभव गरिन् । उनलाई प्रशिक्षणका केही अंश र श्रृंगारको काम जिम्मा दिइएको थियो ।

‘मेरो डान्स कप तेस्रो‘ का अन्तिम चारमा प्रतिस्पर्धी नम्बर २, ६, ८ र ११ का क्रमश: अन्जु तामाङ्ग, विशाल राई, कामना पोखरेल, र सुमन विश्वा पुगेका थिए । यसका चार निर्णायकहरू: दिलिप रायमाझी, नन्दिता केसी, डिबी गुरूङ्ग, सुनिता राई, र नरमन राई हुनुहुन्थ्यो । डान्स कप कार्यक्रमका सञ्चालक सुनिता गुरूङ्ग र लक्ष्मी अधिकारी हुनुहुन्थ्यो ।

‘मेरो भ्वाइस कप पहिलो‘ का अन्तिम चारमा प्रतिस्पर्धी नम्बर १, २, ९ र १२ का क्रमश: आनन राई, विवेक दियाली, प्रकाश सिलवाल, र टिका घिमिरे पुगेका थिए । यसका चार निर्णायकहरू: गायकहरू रामकृष्ण ढकाल, जगदिश समाल, रिमा गुरूङ्ग, र अर्जुन रसाइली हुनुहुन्थ्यो । भ्वाइस कप कार्यक्रमका सञ्चालक रिमा विश्वकर्मा र प्रजित राना हुनुहुन्थ्यो ।

फाइनलमा करिब २ सय जना स्वयंसेवक खटाइएका थिए भने करिब ३ हजार जना दर्शक अटाउने ओहायोको एक्रनस्थित इजे टमस हलमा कार्यक्रम भएको थियो । कार्यक्रमको व्यवस्थापन औसत थियो भने ‘साउन्ड सिस्टम‘ ले निकै धोका दिएको थियो ।

नेपाली–भाषी भूटानीतर्फ प्रताप सुब्बा, महेश थुलुङ, अर्जुन रसाइली, मनोज ढकाल, सुचिता गुरूङ, किरण गजमेर आदिको मुख्य रूपमा अगाडी देखिनुभएको थियो भने अमेरिकामा नेपालका धेरै कलाकार एकथलोमा देखिएको संभवत यो पहिलो कार्यक्रम रह्यो । यसमा राजेश हमाल, दिलिप रायमाझी, केकी अधिकारी, नन्दिता केसी, रिमा विश्वकर्मा, बाबु बोगटी, रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरूपराज आचार्य, जगदीश समाल, रिमा गुरूङ होडा, इन्दिरा जोशी, श्याम नेपाली, सुशील विश्वकर्मा आदि उपस्थित थिए । कार्यक्रममा भूटानी मूलका कलाकारहरू अल्पमतमा परेको झल्को पाइयो ।

नृत्य र गायनका यी दुई ठूला प्रतिस्पर्धाको मुख्य प्रायोजक इन्ट्रानेशनल होम केयर थियो भने अमेरिकेयर हेल्थकेयर सर्भिसेस, जोर्सहिमाल ज्वेलर्स (रोचेस्टर, न्युयोर्क), पाथिभरा ज्वेलर्स (कोलम्बस, ओहायो), इरि इन्स्योरेन्स / गौतम इन्स्योरेन्स एजेन्सी (कोलम्बस, ओहायो), इभान्जेलिना ट्याक्स सर्भिसेस (कोलम्बस, ओहायो), केलर विलियम्स रियाल्टी (एक्रन, ओहायो), इजन फेसन (कोलम्बस, ओहायो), फेसन रेकन (कोलम्बस, ओहायो) आदि सह–प्रायोजक थिए ।

(कोइराला, अक्षरिकाका सम्पादक पनि हुन् ।)

Comments are closed.