Homeनेपालीसमाचारबेलडाँगीमा आगलागी; पीडितहरुलाई राहत वितरण

बेलडाँगीमा आगलागी; पीडितहरुलाई राहत वितरण

रमेश गौतम, नर्वे 

शुक्रबार रातीको आगलागीबाट विस्थापित भएका अग्निपीडितहरुलाई नेपाल सरकारकातर्फबाट नगद सहयोग प्राप्त भएको छ |

एक जना पीडित कारितास नेपालबाट राहत ग्रहण गर्दै

आगो नियन्त्रणका क्रममा भत्काइएका छाप्राका धनीहरु भने यस्तो सहयोगबाट बन्चित भएको जानकारी प्राप्त भएको छ | बेलडाँगी शिविरका शिविर सचिवका अनुसार यसरी भत्काइएका छाप्राहरु करिव तीन दर्जनको संख्यामा रहेका छन् |

यसै बीच झापा जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीले पनि छाप्रा जलेका परिवार जनलाई प्लास्टिक, सारी र बर्कीहरु वितरण गरेको छ |

साथै कारितास नेपालले समेत प्लास्टिकका मग, दन्तमन्जन र ब्रस अनि चाउचाउ वितरण गरेको छ |

बेलडाँगीमा रहेको यूवा मैत्री केन्द्रले सबै विस्थापितहरुका लागि खानाको व्यवस्था गरेको जानकारी प्राप्त भएको छ |

यसैबीच लुथरन विश्व महासंघले भोलिदेखि छाप्रा निर्माणका सामग्रीहरु वितरण गर्ने जनाएको छ |

आगलागी पीडित एक आमा: मनमाया दाहाल  ( तस्बीर : तिलक निरौला )
आगलागी पीडित एक आमा: मनमाया दाहाल ( तस्बीर : तिलक निरौला )

“हाम्रो पहिलो प्राथमिकता शौचालयहरु बनाउनु र आगलागी भएको क्षेत्र सफा गर्नु हो अनि हामी निर्माणका सामग्रीहरु वितरण गर्ने कार्यमा लाग्ने छौं”, महासंघका एक कर्मचारीले भूटान समाचार सेवासंग भने |

शुक्रवार रातको १ बजेतिर गोलधाप शिविरका पूर्वसचिव रामचन्द्र बास्तोलाको छाप्राबाट सुरु भएको आगोले बेलडाँगी-२ शिविर, सेक्टर बि/४ का करिव ५० छाप्राहरु खरानीमा परिणत गरिदिएको थियो | शिविरस्थित हाम्रा सम्बाददाता भन्छन् आगलागीको खास कारणबारे स्थानीय निकायले छानविन गरिरहेको छ |

करिव २५० जना अग्निपीडितहरु शिविरस्थित अंग्रेजी भाषा कक्षामा बस्तै आएका छन् |

यस अघि पनि गोलधाप र बेलडाँगी शिविरहरुमा आगलागीका कैयन् घटनाहरु घटिसकेका छन् | दुर्भाग्यवश गोलधाप शिविरले मार्च २००८ र २०११ मा आगलागीबाट अत्यन्तै ठूलो क्षति बेहोरेको थियो |

(शिविरमा रहेका सम्बाददाताहरुको सहयोगमा )