यूरोपेली आयोगको मानवीय सरोकार तथा नागरिक संरक्षण कार्यालयले भूटानी शरणार्थीको खाद्ध सहायताका निम्ति नेपालस्थित विश्व खाद्ध-कार्यक्रमको शाखा कार्यालयलाई १.५ मिलियन युरो डलर प्रदान गर्ने भएको छ। यूरोपेली आयोगद्वारा प्रदान गरिएको सहायताको समयावधि यसैवर्षको १ जुलाईदेखि आगामी दिसम्बर ३१ सम्म तोकिएको छ।
नेपालका विभिन्न सातवटा शिविरमा रहेका भूटानी शरणार्थीलाई पर्याप्त खाना तथा पोषकतत्व उपलब्ध गराउनु नै यस आर्थिक सहायताको मूल उद्देश्य रहेको आयोगले जनाएको छ।
युरोपेली आयोले सन् २००६ देखि भूटानी शरणार्थीलाई सहायता प्रदान गर्न थालेको हो भने आयोगको मानवीय सरोकार कार्यालयबाट मात्रै करिब ९ मिलियन यूरो डलर पुगिसकेको जनाइएको छ। यसरी नै आयोगले नेपालस्थित शरणार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयमार्फत पनि आर्थिक सहायता प्रदान गर्दै आएको छ।