Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारबफेल्लोमा फेरि आत्महत्या

बफेल्लोमा फेरि आत्महत्या

केही साताअघिको आत्महत्याको घटनापछि न्यूयोर्कको बफेल्लो सिटीमा आज बिहीबार फेरि सो काण्ड दोहोरिएको छ।  अगष्ट महिनामा नेपालको शनिश्चरे शरणार्थी शिविरबाट यहाँ पुनर्स्थापित भएको एक सातामै धनमाया गुरुङले आत्महत्या गरेकी थिइन् भने बिहीबार, करिब ३५ वर्षिया निर्मला निरौलाले आत्महत्या गरी जीवनको बिसर्जन गरेकी छन्।

प्राप्त जानकारीअनुसार बेल्डाँगी १, सेक्टर डी ३ बाट गत जूनमा बफेल्लो आइपुगेको हरिप्रसाद निरौलाकी श्रीमती निर्मलाले बिहीबार, १६ सेप्टेम्बरको दिन बेलुकीतिर आफ्नै निवासको तलामुनी (बेसमेण्ट)-मा कपडाको पासो लगाई आत्महत्याको काण्ड दोहोर्याएकी छन्।

प्राप्त घटना विवरणअनुसार बेलुकी ५ बजेतिर हरिप्रसाद सामान किन्न बजारतिर गएका थिए। परिवारका अन्य सदस्यहरू पनि आ-आफ्नै काममा व्यस्त थिए। हरिप्रसाद बाहिर निस्कँदा निर्मला घरमै बसिरहेकी थिइन्। करिब एक घण्टपश्चात उनी फर्केर आइपुग्दा निर्मला बेपत्ता थिइन्। छिमेकीको घरतिर गएकी होलिन् भन्ठानेर हरिले भान्सामा पसी खाना तयार गरी खानलाई नानीहरूलगायत श्रीमतीलाई बोलाउँदा भेटेनन्। नानीहरू सबै आए, निर्मला आइनन्। हो-हल्ला शुरु भयो, खोजी शुरु भयो, निर्मलाको पत्तो लागेन।

लामो समयसम्म छिमेकीका धेरै मानिसहरू जुटेर खोज्ने क्रममा निरौला परिवार भाडामा बस्ने, बफेल्लो सिटीको सेभेन्थ स्ट्रिटस्थित ५३८ नम्बर अंकित घरको मुनी, बेसमेण्टमा बेलुकी ९ बजेतिर निर्मला झुण्डिएर प्राण गइसकेको अवस्थामा फेला परिन्। यो समाचार तयार पारूञ्जेलसम्म बफेल्लो पुलिसले घटनाको जाँचबुझ गरिरहेको छ भने लाशलाई ठेगान लाउने काम भइसकेको छैन।

निर्मलाले आफूपछि श्रीमान, दुई छोरा र एक छोरीलाई छोडेर गएकी छन्।

(भूटान समाचार सेवाका लागि बफेल्लोबाट भक्त घिमिरे)