क्यान्सासमा शोक- गोरे राई अब रहेनन्

26644
516

ढिलो गरी प्राप्त समाचारअनुसार अक्टोबर ०३, आइतबार राति क्यान्सास भूटानी समाजका सदस्य गोरे राईको हृदयघातका कारण मृत्यु भएको समाचार छ। शनिबार राति सकुशल सुतेका राईले आइतबार बिहान ११ बजेसम्म ढोका नखोलेपछि उनकी श्रीमतीले छिमेकीहरूलाई जानकारी गराएकी थिइन् । ‘‘मैले थाहा पाउने बित्तिकै ९११ मा फोन गरें, प्रहरी आएर ढोका फोरी हेर्दा दाजु त अघि नै बितिसकेछ, एम्बुलेन्समा आएको डाक्टरहरुले शवको अवस्था हेरेर हृदयघातका कारण मृत्यु भइसकेको भनेपछि प्रहरीले शव उठाएर लग्यो’’, मृतकका सहोदर भाइ ओम राईले भूटान समाचार सेवालाई बताए ।

भूटान, साम्ची जिल्लाको देन्छुखा ब्लकमा जनवरी ३१ सन् १९७७ मा जन्मिएका राई १९९०को दशकमा देश निकाला भएपछि भूटानी शरणार्थी शिविर बेलडाँगी-२ विस्तारितमा १७ वर्षलामो शरणार्थी जीवन भोगी यहीवर्ष गत मार्चमा तेस्रो देश पुनर्वाश प्रक्रियामा सामेल भई अमेरिकाको क्यान्सासमा पुनर्स्थापित भएका थिए । राई भूटानदेखि नै आंशिकरूपमा मानसिक रोगी भएको उनकी धर्मपत्नी, शान्ता राई  बताउँछिन् ।

अक्टोबर ०६ सन २०१०, बुधबार दिउँसो क्यान्सासमा शरणार्थी पुनर्वाश गराउने संस्था क्याथोलिक च्यारिटिज, स्थानीय सामाजिक संस्था मिसन एडिलाण्टे र क्यान्सास भूटानी समाजको सक्रियतामा मृतक राईको स्थानीय दाहसंस्कार केन्द्र हाइल्याण्ड पार्क सिमेटरीमा अन्तिम संस्कार सम्पन्न गरिएको क्यान्सास भूटानी समाजका अध्यक्ष हरि घिमिरेले भूटान समाचार सेवालाई जानकारी दिए ।

भोला सिवाकोटी/भूटान समाचार सेवाका लागि क्यान्सासबाट