भूटानबाट बलजफ्ति लखेटिएका शरणार्थीहरूलाई अष्ट्रेलियाली भूमिमा धमाधम पुनर्वास गराइँदै रहेको बेला अष्ट्रेलिया सरकारले दशजना भूटानी विद्धार्थीहरूलाई विभिन्न विश्वविद्धालयमा स्नातक तहको अध्ययनका लागि ‘नेतृत्व पुरस्कार’ नामक राहत अनुदान दिने भएको छ।
सन् 2011 को शैक्षिक सत्रका लागि भूटान सरकारबाट सिफारिशप्राप्त ती दशजना विद्धार्थी अष्ट्रेलियाका विभिन्न विश्वविद्धालय संकायहरूमा भर्ना हुने जनाइएको छ।
भूटानभित्र भविष्यमा आवश्यक सामाजिक तथा आर्थिकल नीति निर्धारणका लागि उपयोगी शिक्षा दिने अष्ट्रेलियाली सरकारको पूर्वनिर्धारित सदाशयतास्वरूप यो राहत सहयोग प्रदान गरिएको बताइएको छ। चालू वर्षमा भने भूटान सरकारले पठाएका सातजना विद्धार्थीहरू अष्ट्रेलियाका विभिन्न विश्वविद्धालयहरूमा अध्ययनरत छन्।
‘‘यी युवाहरू भविष्यको समाजाकि तथा आर्थिक नीति र विकासको सकारात्मक नतिजा ल्याउने क्षमतावान मानवशक्ति बन्नेछन्’’-भूटानका लागि अष्ट्रेलियाली राजदूत पिटर भर्गिजलाई उद्धृत गर्दै क्युनसेलले जनाएको छ। अध्ययनको क्रममा यी विद्धार्थीहरूले सीपविकास तालिमलगायत विभिन्न देशका भावी नेतृत्वदायी जमातहरूसित सम्पर्क सञ्जाल निर्माणको काम गर्ने पनि जनाइएको छ।