भूटानी शहीदहरूको बलिदानप्रति उच्च आस्थाका साथ सराहना गर्दै उनीहरूको सम्मानार्थ स्मृतिमा प्रथम चरणको तहगत कार्यक्रम शुरु भएको छ । सो योजनानुसार शहीदहरूको मुक्तिखातिर शुक्रबारदेखि अमेरिकाको जर्जियाबाट सो समारोह शुरु भएको छ ।
भूटान समाचार सेवामार्फत पूण्य फाउण्डेशन स्थापना घोषणाको लगत्तै यसले जर्जियाको अट्लान्टास्थित हिन्दू-बुद्धिष्ट धार्मिक केन्द्रमा शहीदहरूको मुक्तिखातिर हिन्दू विधिअनुसार शुक्रबारदेखि प्रथम चरणको तीनदिने अनुष्ठान शुरु गरेको हो । फाउण्डेशनका निर्देशक लक्ष्मी ढकालका अनुसार दोस्रो चरणमा दिसम्बर २६ र जनवरी १ मा क्रमशः अमेरिकाकै वासिङ्टन डिसी र नेपालमा क्रमशः इशाई तथा बौद्धिक विधिअनुसार कार्यक्रम समापन गरिने छ । जर्जियामा सक्रिय फाउण्डेशनका संयोजक पशुपति तिम्सिनाले भूससे-लाई जनाए अनुसार शुक्रबारदेखि सातजना पण्डितहरूले श्रीमद्भागवत पाठन गर्नेछन् र पं. काशीनाथ घिमिरेले कथा प्रवचन गर्ने कार्यक्रम छ ।
फाउण्डेशनले अहिलेसम्म ५२ जना शहीदहरूको नामावली तयार पारेको छ भने स्वतन्त्र रूपमा यसको निश्चित संख्या अहिले नै यकिन नहुने पनि जनाइएको छ ।
फाउण्डेशनका अध्यक्ष टेकवीर क्षत्रीले सो कार्यक्रम समग्र भूटानीहरूको कल्याणका लागि आफ्नो ज्यान गुमाउने शहीदहरूको बलिदानप्रति सम्मान जनाउन आयोजना गरिएको हो । आज विश्वव्यापी सामाजिक परिवेशमा भूटानीहरूले संक्रमणकालीन अवस्था पार गर्दै गरेका जनाउँदै अध्यक्ष क्षत्रीले यस अवस्थामा शहीदहरूको सपना र समग्र भूटानीहरूको समाजिक पहिचान तथा न्यायका लागि विश्वको जुनसुकै कुनामा रहे पनि भूटानीहरूले हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने बताए ।