नेपाली भाषालाई प्रवर्द्धन गर्न र लोप हुन नदिन सामुहीक रुपमा अष्ट्रेलियामा नेपाली अध्ययन पाठशाला शुरु गरिएको छ । अहिलेसम्म यहाँ दुईवटा नेपाली पाठशाला सञ्चालनमा आएका छन् ।
गुठी संस्थान अष्ट्रेलियाको पहलमा एक र नीजि तवरबाट एक गरी दुईवटा नेपाली पाठशाला सञ्चालनमा ल्याइएको छ । यहाँ सञ्चालित दुई बिद्यालयमा अहिलेसम्म ५० जना नेपाली बालबालिकाहरु अध्ययन गरिरहेका छन् । जसमध्ये अष्ट्रेलियामा जन्मिएका सबै बालबालिकाहरु हुन् ।
करिब १ महिनाअघिदेखि यहाँको ग्रानभिलमा स्थापना गरिएको सम्झना पाठशालाका सञ्चालक सन्तोष दाहालका अनुसार नेपालीका बालबालिकाहरुले नेपाली भाषा भुल्दै गएकाले आफ्नो भाषालाई बचाउन यो अभियानको थालनी गरिएको हो । उनका अनुसार अंग्रेजी समुदायमा हुर्कने भएकाले नेपाली भाषा लोप हुने सम्भवाना बढ्दै गएकोले अभियानको थालनी गरिएको हो ।
गुठी संस्थान र गोर्खा-नेप्लिज कम्युनिटीद्धारा ६ महिनाअघि म्यारिकभिलमा सञ्चालन गरिएको शब्दमाला पाठशालाले भने यहाँ नेपाली भाषा सिकाईमा महत्वपुर्ण योगदान गरेको छ । करिब ४० जना बालबालिका अध्ययन गरिरहेको यो पाठशालालाई अष्ट्रेलिया सरकारले यस वर्ष ५ हजार डलर अनुदान प्रदान गरेको छ । यहाँको सरकारले सामाजिक संघसंस्थाहरुलाई प्रत्येक बर्ष सम्मान र हौसला स्वरुप केही नगद सहयोग दिने नियमअनुसार यस बर्ष यस बिद्यालयले सहयोग प्राप्त गरेको हो ।
शब्दमाला पाठशाला सञ्चालक समितिकी उपाध्यक्ष नीलम प्रधानाङ्गले नेपाली विद्यालय सञ्चालनमा शुरुमा समस्या आएको भए पनि अहिले उत्साहजनक रुपमा विद्यार्थीहरु आइरहेको बताइन् । उनका अनुसार अहिलेसम्म ४० जना नेपाली बालबालिकाहरु पाठशालामा अध्ययन गरिरहेका छन् । यहाँ जन्मिएका नेपाली बालबालिकाहरुले नेपाली भाषा बोल्न, लेख्न र पढ्न नजान्ने भएकाले यस्तो पाठशाला शुरु गरिएको उनको भनाई छ ।
यहाँ सञ्चालित पाठशालाहरुले नेपाली पाठ्यपुस्तक नेपालबाटै ल्याउने गरेका छन् भने पढाउने बिधि पनि नेपालका विद्यालयको जस्तै छ । नेपालमा शिक्षण ज्ञान भएका शिक्षकहरुमार्फत अध्ययन हुने यहाँको विद्यालयले अध्ययनबापत् केही रकम समेत लिने गरेका छन् । यिनीहरुले वार्षिक ३ सय ५० अष्ट्रेलियन डलरसम्म शुल्क लिने गरेका छन् ।
(सुशिल पोख्रेलको सहयोगमा अष्ट्रेलियाबाट प्राप्त समाचार)