नेपालस्थित अमेरिकी दूतावासले यो साता नेपालबाट अमेरिका प्रस्थान गर्ने भूटानी शरणार्थीहरूको संख्या ३० हजार पुग्ने जनाएको छ । यसका साथै कुनै पनि देशमा पुनर्स्थापित हुने भूटानी शरणार्थीहरूको संख्या ३५ हजार पुग्ने दूतावासको जन सरोकार कार्यालयद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
सो विज्ञप्तिमा भनिएको छ-“हाम्रा साझेदारहरूसँग मिलेर हामीले यी व्यक्तिहरूका दुर्भाग्यपूर्ण तथा प्रायः दुःखदायी अवस्थालाई आशापूर्ण अवस्थामा परिणत गर्न सहयोग पुर्याउन पाएकोमा हामी सन्तुष्ट छौं ।”
अमेरिकाले युएनएचसीआर, आइओएम र अष्ट्रेलिया, क्यानाडा, नेदरल्याण्ड्स, डेनमार्क, नर्वे, न्युजील्याण्ड र बेलायत सम्मिलित संयुक्त समूहसँगको सहकार्यमा सन् २००८ को शुरुदेखि भूटानी शरणार्थीहरूको पुनर्स्थापना शुरु गरेको हो ।
युएनएच्सीआरले सिफारिश गरेका र शरणार्थी ग्रहणसम्बन्धी अमेरिकी कानूनका आवश्यकताहरू पूरा गर्ने नेपालभित्र रहेका जति पनि भूटानी शरणार्थीहरूलाई अमेरिकाले स्वीकार्ने प्रतिबद्धता लिएको छ ।