एउटा बलियो निकायले निरंकुश गतिविधिको निरीक्षण गर्न नथालेसम्म भूटानको तानाशाही सरकारले मानवाधिकारको उल्लंघन जारी राख्ने बताउँदै निर्वासित भूटानी मानवाधिकारवादी नेता टेकनाथ रिजालले दक्षिण एशियाली मानवाधिकार गठबन्धन एसएएचआर-लाई भूटानमा आफ्नो शाखा खोल्न आग्रह गरेका छन् ।
नेता रिजालका अनुसार एसएएचआर-ले भूटानका सम्बन्धमा धेरै सम्मेलन र प्रकाशन गतिविधि सञ्चालन गरेको छ । त्यसर्थ अब यसले भूटानमा मानवाधिकार उल्लंघनबारे निरीक्षण गर्न शाखा कार्यालय खोल्ने अनुमतिका लागि पहल गर्नसक्छ ।
गत शनिवारदेखि काठमाडौंमा शुरु भएको ‘‘दक्षिण एशियाका लागि चुनौतीहरूः मानवाधिकार र प्रजातन्त्र’’, नामक तीनदिने क्षेत्रीय सम्मेलनमा आफ्नो तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै नेता रिजालले भने, ‘‘मानवाधिकार र प्रजातन्त्रको सवालमा भूटानले अन्तर्राष्ट्रिय समुदायको आँखामा छारो हाल्दैछ ।’’