शुक्रबार बिहान एकाएक पुनर्वाशयात्राको लागि हुने काठमाडौं उड़ान रद्द गरी आइओएमले दमक कार्यालयबाटै केही दर्जन शरणार्थीलाई शिविर फिर्ता गरेपछि पुनर्वाशका लागि प्रतीक्षारत रहेका शरणार्थीहरूमा खिन्नता छायो । तर नेपालस्थित अमेरिकी राजदूतावासले विश्वव्यापी रूपमा अमेरिका भित्र्याइने शरणार्थीहरूको छानबिन विधिमा पुनर्विचार गर्नलाई अमेरिकी सरकारले समय लिएको भन्दै यो स्थगन भूटानीका निम्तिमात्र नभएको जनाएको छ ।
‘‘अमेरिका प्रवेश गर्नचाहने संसारभरिका शरणार्थीका लागि यो अस्थायी रोक (केही दिनका लागि स्थगित भएको) हो ।’’ दूतावासको यो सन्देश सार्वजनिक भएपछि भने वातावरण केही शान्त बनेको छ । यद्धपि भूटानी शरणार्थीहरू पूर्ण आश्वस्त भने छैनन् ।
‘‘छानबिनमा पुनर्मूल्याङ्कन गर्नुपर्ने भएकोले अमेरिकी सरकारले संसारभरि धेरै मान्छेलाई पुनर्वाश प्रकृयामा सामेल हुन केही दिनलाई रोकेको छ ’’, काठमाडौंस्थि अमेरिकी दूतावासबाट जारी सन्देशमा भनिएको छ । यो स्थगन प्रकृयामा कुनै समस्या अथवा त्रुटी भेटेर भएको नभई सामान्य समयतालिकाअनुसार भएकोले यस स्थगनलाई चाँड़ै खोलिने पनि दूतावासले बताएको छ ।
अमेरिकी सरकारको नीति तथा योजना जेसुकै भएपनि भूटानी शरणार्थीलाई भने यस्तो अपर्झट खुल्दुलीपूर्ण निर्णयले मर्का परेको गुनासो झापाका शिविरहरूबाट सुन्न थालिएको छ । पुनर्वाशमा अमेरिका जान शुक्रबार बिहान आइओएमको गाड़ी चढ़ेर हिँड़ेका शरणार्थीलाई दमकबाट कुनै ठोस कारण र सूचनाबिना शिविरतिर फर्काइनुले शिविरहरूमा अन्योल छाएको पनि बताइन्छ । ‘‘मान्छे निस्किएपछि शिविरका छाप्राहरू तत्काल लडाइने हुँदा सशस्त्र नेपाल प्रहरीको गश्तीमा फिर्ता ल्याइएका ती शरणार्थीहरू छिमेकी र आफन्तका छाप्रामा अलपत्र छन् । उनीहरूका छाप्राहरू आज बिहनमात्र उनीहरू निस्किएपछि भत्काइएको थियो । कुनै जानकारी-सूचनाबिना यस्तो काम भएपछि पुनर्वाश प्रकृया यतिमै सकिएछ वा रोकिएछ भन्ने आशंकाले शरणार्थीहरू बिलखबन्द परेका छन् ’’, आफ्नो परिचय खुलाउन नचाहने बेल्डाँगी २ का एक शरणार्थीले भने ।
शिविर फर्काइएकाहरूलाई राशन र अन्य राहत सामग्रीहरू तत्काल वितरण गरिने यूएनएचसीआरका अधिकारीहरूले जनाएका छन् ।
