पाकिस्तानका विदेशसचिव सलमान बसिरले मंगलबार भूटानका प्रधानमन्त्रि जिग्मे वाई थिन्लेसित भेटेर आपसी समझ्दारी र साझा चासोका बारेमा कुराकानी गरे । पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारी तथा प्रधानमन्त्रि यूसुफ राजा गिलानीको तर्फबाट संयुक्त सुवेच्छा दिँदै प्रम थिन्लेलाई बसिरले बधाई टक्राएपछि सोही अनुरूपको प्रत्युत्तर थिन्लेबाट पनि भएको जनाइएको छ ।
पाकिस्तानी सञ्चार संस्था एपीपीले जनाएअनुसार बसिरले पाक-प्रमको तर्फबाट थिन्लेलाई पाकिस्तान भ्रमणको निम्तोसमेत दिएका छन् । ‘‘भूटानका प्रधानमन्त्रिले उत्सुकतावश आफू पाकिस्तान भ्रमणको प्रतीक्षामा रहेको बताएका छन् ’’, बसिरलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाए । भूटान र पाकिस्तानबीच सदियौंदेखि महत्त्वपूर्ण मैत्रीसम्बन्ध रहेको पनि बसिरले बताएका छन् । ‘‘भूटानका विद्धार्थीहरूलाई औषधी विज्ञान तथा प्राविधिक क्षमता अभिवृद्धिको शिक्षा प्रदान गर्दै भूटानी कूटनीतिज्ञहरूलाई दक्षताको तालिम दिनसमेत सहयोग गरेर हामी भूटानसित साझेदारी बढाउन चाहन्छौं ’’, बसिरले भनेका छन् ।