Homeनेपालीसमाचारशिविरमा चुनाउः बेल्डाँगीमा मात्र एक सचिव

शिविरमा चुनाउः बेल्डाँगीमा मात्र एक सचिव

लामो समयदेखि विभिन्न कारण थाँतीमा रहँदै आएको भूटानी शरणार्थी शिविरहरूमा गरिने व्यवस्थापन समितिको चुनाउ यही जनवरी तेस्रो साता हुने भएको छ । जनवरीकै २० र २१ गरी दुई दिनमा शिविर व्यवस्थापन समितिको चुनाउ सम्पन्न हुने सम्बन्धित सरोकारवालाहरूले जनाएका छन् ।

शिविरहरूमा चुनाउ त पहिले पनि भएकै हो । तर, यसपालि नौलो के छ भने १८ वर्षमाथिका सबैले मतदान गर्ने योजना छ । चन्द्रगढीस्थित शरणार्थी समन्वय एकाईको हिसाब अनुसार यसपालिको चुनाउमा सरदर ४७ हजार ५९७ शरणार्थीले मतदान गर्नेछन्  ।  ‘‘सधैं परिवारका मूलीले मात्र मतदान गर्ने नियम थियो तर, यसपालि १८ वर्षपुगेका सबैले मतदान गर्न पाउनेछन्’’, समन्वय एकाईका उपनिर्देशक लेखनाथ पोखरेलले जनाए ।  शरणार्थीहरूको कुल मतदाता संख्यामध्ये २४ हजार २१४ पुरुष र २३ हजार ३८३ महिला रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायोगको तथ्यांकले देखाएको छ ।

 

यसपालिको अझ चासोपूर्ण कुरो के छ भने बेल्डाँगीका तीनवटा शिविरमा अब एकजना सचिवमात्र चुनिने भएका छन् र तीनवटै शिविरका लागि दुई उपसचिव रहने छन् । तथापि शिविरहरूमा यो निर्णयप्रति विरोध भइरहेको बेल्डाँगी १ वर्तमान सचिव टीबी गुरुङले जनाएका छन् ।

यसैबीच शिविरमा दर्ता चाहने भूटानीहरूको समूहले चुनाउ विधोल्ने चेतावनी दिएको पनि सुन्नमा आएको छ । उनीहरूले आफूहरुको पनि चुनाउमा मत जाहेर गर्ने अधिकारको प्रयोग गर्न पहिले दर्ताको प्रक्रिया पूरा गरेर मात्र चुनावी योजना तर्जुमा गर्ने माग गरेका छन् ।

यस चुनाउले पुनर्वाश कार्यक्रमअन्तर्गत खाली हुन गएका व्यवस्थापन समितिका कतिपय पदपूर्ति गर्नेछ भने केही शिविरमा पूरै नयाँ संरचना बन्ने पनि सम्भावना छ ।