लामो समयदेखि विभिन्न कारण थाँतीमा रहँदै आएको भूटानी शरणार्थी शिविरहरूमा गरिने व्यवस्थापन समितिको चुनाउ यही जनवरी तेस्रो साता हुने भएको छ । जनवरीकै २० र २१ गरी दुई दिनमा शिविर व्यवस्थापन समितिको चुनाउ सम्पन्न हुने सम्बन्धित सरोकारवालाहरूले जनाएका छन् ।
शिविरहरूमा चुनाउ त पहिले पनि भएकै हो । तर, यसपालि नौलो के छ भने १८ वर्षमाथिका सबैले मतदान गर्ने योजना छ । चन्द्रगढीस्थित शरणार्थी समन्वय एकाईको हिसाब अनुसार यसपालिको चुनाउमा सरदर ४७ हजार ५९७ शरणार्थीले मतदान गर्नेछन् । ‘‘सधैं परिवारका मूलीले मात्र मतदान गर्ने नियम थियो तर, यसपालि १८ वर्षपुगेका सबैले मतदान गर्न पाउनेछन्’’, समन्वय एकाईका उपनिर्देशक लेखनाथ पोखरेलले जनाए । शरणार्थीहरूको कुल मतदाता संख्यामध्ये २४ हजार २१४ पुरुष र २३ हजार ३८३ महिला रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायोगको तथ्यांकले देखाएको छ ।
यसपालिको अझ चासोपूर्ण कुरो के छ भने बेल्डाँगीका तीनवटा शिविरमा अब एकजना सचिवमात्र चुनिने भएका छन् र तीनवटै शिविरका लागि दुई उपसचिव रहने छन् । तथापि शिविरहरूमा यो निर्णयप्रति विरोध भइरहेको बेल्डाँगी १ वर्तमान सचिव टीबी गुरुङले जनाएका छन् ।
यसैबीच शिविरमा दर्ता चाहने भूटानीहरूको समूहले चुनाउ विधोल्ने चेतावनी दिएको पनि सुन्नमा आएको छ । उनीहरूले आफूहरुको पनि चुनाउमा मत जाहेर गर्ने अधिकारको प्रयोग गर्न पहिले दर्ताको प्रक्रिया पूरा गरेर मात्र चुनावी योजना तर्जुमा गर्ने माग गरेका छन् ।
यस चुनाउले पुनर्वाश कार्यक्रमअन्तर्गत खाली हुन गएका व्यवस्थापन समितिका कतिपय पदपूर्ति गर्नेछ भने केही शिविरमा पूरै नयाँ संरचना बन्ने पनि सम्भावना छ ।