Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीह्यारिशवर्गको भूटानी समुदायसँग मध्यावधि निर्वाचनका उम्मेद्वार

ह्यारिशवर्गको भूटानी समुदायसँग मध्यावधि निर्वाचनका उम्मेद्वार

न्यु ह्याम्सर । पेन्सलभेनिया राज्यको ह्यारिशवर्गस्थित भूटानी समुदायले आगामी निर्वाचनका उम्मेद्वारहरूसँग शनिबार (अक्टोबर २७, २०१८) छलफल गरेको छ । स्थानीय स्वाटारा टाउनशिप म्युनिसिपल बिल्डिङ्गमा भएको छलफलमा अध्यागमन, स्वास्थ्य-सेवा तथा बिमा, समुदायका मानिसले झेलेका कानुनी अप्ठ्यारा आदि विषय उठाइएका थिए । अमेरिकामा मध्यावधि निर्वाचन नोभेम्बर ६, २०१८ मा हुँदैछ ।

करिब दुई घन्टा र आधा चलेको यस किसिमको पहिलो चुनावी छलफलमा १ सय जतिको उपस्थिति थियो । सवाल-जवाफले समय लिएकाले निर्धारित दुई घन्टाको समय लम्बिएको थियो । भूटानी समुदायले अल्पसंख्यकलाई विभिन्न क्षेत्रमा समावेश गर्नेलाई मतदान गर्न सकिनेमा जोड दिएको थियो । छलफल कार्यक्रममा कंग्रेसका उम्मेद्वार जर्ज स्कटसहित स्थानीय तहका ६ उम्मेद्वारको उपस्थिति थियो ।

छलफल कार्यक्रम भूट्निज कम्युनिटी अफ ह्यारिशवर्ग (बिसिएच) ले संयोजन गरेको हो । संयोजक संस्था बिसिएचको स्थापना सन् २०११ मा भएको हो । समुदायका तर्फ बाट पदम रिजाल, डा. खेम अधिकारी, विश्वनाथ क्षेत्री, टीका ढुंगाना, विनय लुइटेल, लक्ष्मण दुलाल, टेक गुरूङ्ग, र जीवन अधिकारी गरि ८ जनाले प्रतिनिधित्व गर्नुभएको थियो ।

”यसपटक डेमोक्रेटिक पार्टीका उम्मेद्वारहरूसँग बस्यौं । रिपब्लिकन पार्टीका उम्मेद्वारहरूसँग बस्ने सोचेका छौं । तर निर्वाचन नजिक आइसकेकाले भ्याइन्न की भन्ने छ,” आयोजक संस्थाका संस्थापक अध्यक्ष टीका ढुंगानाले बताउनुभयो ।

यो निर्वाचनले ४ सय ३५ प्रतिनिधि-सभा (हाउस अफ रिप्रजेन्टेटिभ) सदस्य , ३५ सिनेट, ३९ गभर्नर, र स्थानीय प्रतिनिधि छान्दैछ । ह्यारिशवर्गमा १५ हजारभन्दा बढी नेपाली-भाषीको बसोबास छ भने उमेर पुगेकामध्ये करिब ६० प्रतिशत मतदान दिन योग्य हुनुहुन्छ ।

पेन्सलभेनिया राज्यका हाल दुई सिनेटमध्ये एक-एक जना दुवै दलका हुनुहुन्छ, १८ हाउस अफ रिप्रजेन्टेटिभका सदस्यमध्ये १० रिपब्लिकन, र ६ डेमोक्रेटका हुनुहुन्छ भने २ स्थान खाली छ । पेन्सलभेनिया राज्य आकारमा ३३ औं भए पनि ६ औं घना आवादीको छ ।

(कोइराला, अक्षरिका नेपाली न्युजलेटरका सम्पादक ।)