Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारहल दम्पतिबाट पाँचौं वनभोजको आयोजना

हल दम्पतिबाट पाँचौं वनभोजको आयोजना

न्यु ह्याम्सर – अमेरिकाको उत्तर-पूर्वी राज्य ‘न्यु ह्याम्सर’ मा पुनर्स्थापित भूटानीका लागि यहाँका एक समाजसेवीको परिवार शनिबार (जुलाई २७) एक वनभोजको आयोजना गरेको छ । समाजसेवी डगलस हल, उनकी धर्मपत्नी केट राफर्टी हल र जोनाथन हलले गर्दै आएको वनभोज पाँचौ हो । वनभोजलाई हलले ‘भूटानी तथा उनका नेपाली एवम् अमेरिकी मित्रहरूको वनभोज’ नाम दिनु भएको छ ।

वनभोज कार्यक्रममा भजन गाउदै भूटानीहरू
वनभोज कार्यक्रममा भजन गाउदै भूटानीहरू

स्थानीय चाइचेस्टर, लेन रोडस्थित हलको आफ्नै घर-जग्गाको क्षेत्रमा आयोजित उक्त वनभोजमा नेपाली-भाषी भूटानी, नेपाली र अमेरिकी गरी करिब तीन सयको उपस्थिति थियो । उहाँले यस्तो वनभोज वर्षमा जूनदेखि अगस्तबीचमा शनिबार वा आइतबार गर्दै आउनु भएको छ ।

भजनबाट शुरू भएको वनभोज खानपिनका अतिरिक्त क्यारम बोर्ड, ब्याडमिन्टन, भलिबल खेल्ने व्यवस्था गरिएको थियो । एकल तथा दोहोरी गीत गाइएको थियो भने नृत्य गरिएको थियो । गायक तारा आचार्य सबैलाई मनमुग्ध पार्ने स्वरमा गीत सुनाउनु भएको थियो ।

हल-दम्पति सन् १९६०-७० को दशक सात वर्ष जति नेपालमा पिसकोर स्वयंसेवक हुनुहुन्थ्यो । अमेरिकामा भूटानीहरूको पुनर्स्थापना थालेपछि’नेपाली-अंग्रेजी-नेपाली डिक्सनरी’ छाप्नुभयो । सन् २०१२ मा ‘अमेरिकामा बसोबास’ (सहयोगी पुस्तक) र सन् २०१३ मा अमेरिकाको नागरिकता लिंदा दिनुपर्ने परीक्षाका लागि पढ्नुपर्ने प्रश्न-उत्तरको पुस्तकको अनुवाद र सह-सम्पादन गर्नुभयो ।

हल-दम्पति दुवै सेवा-निवृत हुनुहुन्छ र आफ्नो धेरै समय भूटानीहरूको सेवामा बिताउनु हुन्छ ।

भूट्नीज कम्युनिटी अफ न्यु ह्याम्सरका अनुसार यस राज्यमा दुई हजार भूटानीको पुनर्स्थापना भएको छ भने नेपाली कम्युनिटी अफ न्यु ह्याम्सरका अनुसार यहाँ एक हजार नेपाली बस्नुहुन्छ ।

सौजन्यः राजेश कोइराला