Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारस्वदेश फिर्तीको ढोका खुला गरी मानव अधिकारको सम्मान गर्न आग्रह

स्वदेश फिर्तीको ढोका खुला गरी मानव अधिकारको सम्मान गर्न आग्रह

दमक । स्वदेश फिर्तीको ढोका खुला गरी मानव अधिकारको सम्मान गर्न सम्बन्धित पक्षलाई भूटानी शरणार्थीले आग्रह गरेका छन् । झापाको बेलडाँगीस्थित शरणार्थी शिविरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) का अवसर पारेर दातृ निकायको सहयोगमा शिविर व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा ठूलो समूहमा नाराबाजीसहित र्‍याली लिएर सहभागी हुन आएका शरणार्थीले उक्त आग्रह गरेको हो ।

नेसनल रिकन्सिलिएसन कमिटि, ज्येष्ठ नागरिक र भूटान स्वतन्त्र जनमञ्चले संयुक्त रूपमा र्‍याली आयोजना गरेको थियो ।

स्थानीय युवा मैत्री केन्द्रको प्रागणबाट सुरू भएको र्‍याली उक्त कार्यक्रम स्थलमा पुगेर टुंगिएको थियो । प्रदेश, स्थानीय सरकार र मानव अधिकारवादी संघ-संस्थाको प्रतिनिधिहरूलाई अतिथिका रूपमा निम्त्याइएको उक्त कार्यक्रम स्थलमा र्‍यालीपछि कार्यक्रम अवधीभर ब्यानर र प्लेकार्ड लिएर शरणार्थीहरू अनसन बसेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सांसद् अर्जुन राईले भूटान सरकारले जनता खेदेर मानव अधिकारको अवहेलना गरेको बताउनु भयो । अर्को प्रसंगमा उहाँले भूटानी शरणार्थी स्वदेश फिर्ता नभएसम्म राहत कटौती गर्न नमिल्ने बताउनु भयो ।

कार्यक्रमको विशिष्ट अतिथि प्रदेश १ कै अर्का सांसद् धिरेन्द्र शर्माले शरणार्थी समस्या सामाधानका लागि केन्द्रसम्मै पहल गर्ने आश्वासन दिनु भएको छ ।

र्यादलीका अगुवा एवं भूटान स्वतन्त्र जनमञ्चका महासचिव डि.बि. सुब्बाले स्वदेश फिर्ताको विकल्प आफूहरूलाई मान्य नहुने बताउनु भयो । भूटानी शरणार्थीलाई स्थानीय तहमै मिलाएर राख्ने हल्ला चलिरहेका बेलामा आफूहरूले स्वदेश फिर्ताबाहेक कुनै पनि विकल्प नखोजेको र्‍यालीमा सहभागी अर्का एक युवा कविराज मगरले स्पष्ट पार्नुभयो ।
‘स्वदेश फिर्तीको ढोका खुल्ला गर, अन्तर्राष्ट्रिय मानव अधिकारको सम्मान गर’ र्‍यालीमा सहभागी शरणार्थीको मख्य नारा थियो ।

आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस र लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको समापनको अवसर पारेर आयोजित उक्त कार्यक्रममा शरणार्थीले गायन, नृत्य र नाटकमार्फत आफ्नो कला प्रस्तुत गरेका थिए ।