अाफूले सिड्नी प्रवेश गरेको पाँच वर्ष पुरा भएको अवसर पारी सिड्नीबासी भूटानीहरुले गत शनिबार वारिङ्टनको सामुदायिक भवनमा एक भव्य कार्यक्रमकाबीच पाचाँै वार्षिकोत्सव मनाएका छन् ।
प्रत्येक वर्ष वार्षिकोत्सवका माध्यमबाट वहु-सांस्कृतिक कार्यक्रम गर्दै आएको यहाँस्थित भूटानीहरुको संस्था ए.बि.ए सिड्नीले विभिन्न समूह र प्रतिनिधिहरुलाई समेत कार्यक्रममा आमन्त्रण गरेको थियो। कार्यक्रममा भूटानीहरुको कलाकौशल र वहु-सांस्कृतिक नाचगानका माध्यमबाट मनोरञ्जन गराइएको थियो साथै इथोपियन समाजबाट पनि परम्परागत नृत्य प्रस्तुत भएकाले कार्यक्रममा झनै रौनकता थपिएको थियो ।
गुरुहरुको स्वस्तिवाचनद्वारा कार्यक्रमको शुरुवात गरिएको थियो भने ए.बि.ए सिड्नीका अध्यक्ष डा.ओम ढुङ्गेलले मञ्चले अतिथिहरुको स्वागत गर्दै संस्थाको उद्देश्यमाथि प्रकाश पार्रेका थिए। कार्यक्रमको प्ररम्भमा नै “ वयोवृद्ध बाआमाहरु समाजका धरोहर हुन्” भन्दै भूटानी वृद्ध बाआमाहरुलाई मुख्य अतिथि रहेका अस्ट्रेलियाका सांसद फ्योना स्कटले खादा र बर्को ओढाई सम्मान गरेकी थिइन् । अस्ट्रेलियाका प्रधानमन्त्री टोनी अबटले भूटानी समाजका निम्ति पठाएको सन्देश पत्र मञ्चमा वाचन गरेर प्रमुख अतिथि स्कटले नै सुनाएकी थिइन् तथा प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै आफू कार्यक्रममा उपस्थित् रहेको समेत सबैमा जानकारी गराइन् ।
उक्त कार्यक्रममा सिड्नीमा पाँच वर्षदेखि बसोबास गर्दै आएको भूटानी समाजको प्रगति र प्रयासका बारेमा ए.बि.ए सिड्नीका भू.पू अध्यक्ष तथा वर्तमान सल्लाहकार ओम ढुङ्गेलले कार्यपत्रमार्फत समाजलाई पारदर्शिता र सक्षमतातिर डो-याउँदै लैजाने कुरा पनि उल्लेख गरे । कार्यक्रममा गीत-सङ्गीत, भूटानी परम्परागत जोङ्खा र नेपाली नाच तथा प्रहसन प्रस्तुत गरिएको थियो ।
मञ्चको अघिल्तिर तथा दायाँबायाँमा भूटानी युवा तथा स-साना नानीहरुले बनाएका चित्रकला पनि प्रर्दशन गरिएको थियो । ए.बि.ए सिड्नीलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएका एम.टि.सी अस्ट्रेलिया, सिडवेस्ट मल्टिकल्चरल सर्भिस, सि.एम.आर.सी पारामाट्टा संस्थाहरुलाई ए.बि.एका तर्फबाट अध्यक्षले प्रसंशा पत्र प्रदान गरेका थिए। विविध क्षेत्रमा पुरस्कृत भूटानी समुदायका व्यक्तिहरुलाई पनि सम्मान र प्रसंशा पत्र दिइएको थियो । साथै २०११ र १२ सालमा स्कुल, टेफ र विश्वविद्यालयबाट उच्च अङ््क प्राप्त गर्ने विद्यार्थीलाई पनि कार्यक्रममा प्रसंशा पत्र दिइएको थियो भने ए.बि.एका भू.पू कार्य समिति सदस्यहरुलाई योगदान स्वरुप कदर पत्र समेत दिई सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा मञ्चमा कार्यक्रम प्रस्तुत गर्ने सबैलाई सहभागिताको प्रमाणपत्रसमेत प्रदान गरियो । ए.बि.एका सचिव सुमन छेत्रीले धन्यवाद ज्ञापन गरेपछि कार्यक्रम सकिएको थियो।
पदम काफ्ले (समाचारदाता, सिड्नी)