Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsसाहित्य परिषद् भूटानलाई नयाँ नेतृत्त्व

साहित्य परिषद् भूटानलाई नयाँ नेतृत्त्व

नासुआ (न्यु ह्याम्सर) । साहित्य परिषद् – भूटानले नयाँ नेतृत्त्व पाएको छ । परिषद्का तर्फबाट डिसेम्बर ३० मा जारी विज्ञप्तिका अनुसार परिषद्का लागि नयाँ निर्देशक-मण्डली (बोर्ड अफ् डाइरेक्टर्स) र कार्यसमिति बनेको छ । नयाँ नेतृत्त्वमा विश्वभर पुगेका नेपाली-भाषी भूटानीलाई समेट्ने प्रयास गरिएको छ ।

बोर्ड अफ् डाइरेक्टर्समा गंगाराम लामिटारे (अधिकारी), नैनसिंह सारू (मगर), बुद्धमणि ढकाल, शिवलाल दाहाल, सञ्चमान खालिङ, खगेन्द्र गौतम, डिल्लीराम शर्मा आचार्य, डा. लक्ष्मीप्रसाद ढकाल, याम थुलुङ र डा. गोविन्द रिजाल गरी १० जना छानिनु भएको छ भने अष्ट्रेलियाबाट ३ जनाको स्थान रिक्त छ ।

यसैगरी भक्त घिमिरेको अध्यक्षतामा कार्यसमिति बनेको छ । समितिको उपाध्यक्षमा प्रकाश धमला, सचिवमा रूपनारायण पोखरेल, कोषाध्यक्षमा लक्ष्मण भण्डारी हुनुहुन्छ । समितिका अन्य पदाधिकारीलाई विभिन्न काम जिम्मा दिइएको छ । प्रकाशन विभाग संयोजक रमेश गौतम, समाज तथा संस्कृति विभाग संयोजक मनोजकुमार राई, सञ्चार तथा मनोरञ्जन विभाग संयोजक चरण बजगाई एवम् सहसंयोजकमा जे.एन. दाहाल र परिषद्का सम्पूर्ण प्रकाशनका मुख्य सम्पादक यतिराज अजनबी हुनुहुन्छ । बाँकी स्थानमा छानिने काम बाँकी रहेको र आवश्यकता परेका खण्डमा थप स्थान सिर्जना गरेर परिपूर्ति गरिने परिषद्ले जनाएको छ ।

परिषद्ले विज्ञप्तिमा भनेको छ, ‘विगतका अन्यौल, असमझदारी, गल्ती-कमजोरीहरू पर पन्छाएर नयाँ ऊर्जासाथ परिषद्को विशाल लक्ष्यका लागि हातमा हात र काँधमा काँध मिलाउन हामी पुराना र नयाँ पुस्ताका सम्पूर्ण ऊर्जाशिल व्यक्तिहरूलाई आह्वान गर्दछौँ ।’

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘७५ सदस्यको यस परिषद्ले संसारभरि हाम्रो समुदायका साहित्य शिल्पी र भाषाप्रेमीहरू रहेको वर्तमान परिवेशलाई मूल्याङ्कन गरी सबैको चाहना र समयको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी महसुस गरेको छ । यसर्थ सबैले आ-आफ्नो क्षमता र चासोलाई एकाकार गर्दै परिषद्को उपयोगिता सिद्ध हुने किसिमले काम गरिदिनु हुन सविनय निवेदन गरिन्छ ।’

सन् १९९३ मा स्थापित साहित्य परिषद भूटान भूटानी साहित्यको सबैभन्दा जेठो संस्था हो । स्थापना हुँदा यसको नाम नेपाली भाषा परिषद,भूटान थियो । सन् २००४ मा यस संस्थालाई नेपाली साहित्य परिषद,भूटानमा रूपान्तरण गरियो । यसलाई सन् २०११ मा भूटान साहित्य परिषदका रूपमा रुपान्तरित गरियो ।