Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारशरणार्थी समस्या समाधानमा ठोस पहलको आशा

शरणार्थी समस्या समाधानमा ठोस पहलको आशा

गणतान्त्रिक नेपालका वर्तमान प्रधानमन्त्रि डा.बाबुराम भट्टराईको सरकारसँग भूटानी राजनीतिक दलहरूले स्वदेशफिर्तीलगायत शरणार्थी समस्या समाधानमा ठूलो आशा राखेका छन् ।

प्रधानमन्त्री भट्टराईको भारत भ्रमणको अवसरमा विभिन्न भूटानी संघ-संगठनका अगुवाहरूले नेपाल र भारतको तर्फबाट अन्तर्राष्ट्रिय विधिसम्मत ढाँचामा शरणार्थी समस्या समाधानको पहल हुने आशा व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘‘भारत भ्रमणपछि लगत्तै माल्दिभ्सको मालेमा हुन लागेको १७ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनमा पनि नेपालको तर्फबाट प्र.म. डा. भट्टराईको नेतृत्व रहने छ । यसर्थ सार्क सम्मेलनमा पनि भूटानी शरणार्थी मुद्दा एउटा एजेण्डा बन्ने हामीले आशा गरेका छौं।’’ भूटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा अगाड़ि भनिएको छ,‘‘ भूटानी शरणार्थी समस्या समाधानको उपाय नेपालका वर्तमान प्रधानमन्त्री तथा उनको सरकारसित रहेकोले अब हुने सार्क सम्मेलनमा नेपालको तर्फबाट ठोस पहल हुने आशा राखेका छौं ।’’

‘‘भूटान र नेपालबीच भएका १५ औं चरणसम्मका वार्ताहरूले शरणार्थीहरूको तेस्रो देश पुनर्वाश कार्यक्रम निम्त्याएको छ तर, यो समस्याको दीर्घकालीन समाधान हुन सक्तैन’’, पौड़ेलले विज्ञप्तिमा जिकिर गरेका छन् ।

भूटानी जनताले स्वतन्त्र रूपमा नागरिक हक तथा मानवाधिकारको उपभोग गर्न पाउनुपर्ने जिकिर गर्दै पौड़ेलले सार्क क्षेत्र राष्ट्रलाई शरणार्थी समस्यामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यमा नेपालको तर्फबाट ठोस पहल हुनेसमेत आफूहरूले विश्वास राखेको उल्लेख गरेका छन् ।