गत महिना भएको भीषण आग्लागीबाट पीडित भएका झापाको गोलधाप र मोरङको शनिश्चरेका भूटानी शरणार्थीका लागि ११ लाख बैसट्ठी हजार ६ सय छयहत्तर रुपैयाँ वितरण गरिएको छ ।

पुनर्बासका क्रममा विभिन्न देशमा पुगेका भूटानीहरुबाट भूटान मिडिया सोसाइटीले संकलन गरेको उक्त रकम दुबै शिविरका ४३८३ जना अग्निपीडितलाई तीन चरणमा वितरण गरिएको सोसाइटीका प्रवन्धक विद्यापति मिश्रले जानकारी दिएका छन् ।
संकलन गरेको राहतबाट गोलधापमा सात लाख अठासी हजार चालीस रुपैयाँ र शनिश्चरेमा तीन लाख उनन्पचास हजार आठ सय साठी रुपैयाँ नेपाल सरकारका प्रतिनिधि तथा शिविरमा कार्यरत संघ-सस्थाका प्रतिनिधि तथा शिविर व्यवस्थापन समितिको उपस्थितिमा वितरण गरिएको जानकारी सोसाइटीले दिएको छ ।
राहत वितरण कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रतिनिधि तथा शरणार्थी समन्न्वय इकाई, गोलधापका इकाई प्रमूख पशुपति निरौलाले गैर आवशीय नेपालीसमेतलाई संलग्न गरेकोमा सासाइटीप्रति आभार प्रकट गरेका थिए ।
“पीडितकालागि तपाईँहरु सबैसंग जुट्नु भएछ, त्यसकालागि म नेपाल सरकारकातर्फबाट धन्यवाद दिन चाहन्छु,” निरौलाले भने ।

प्रबन्धक मिश्रले दिएको जानकारीअनुसार पीडित बाल–बालिकाकालागि प्रति व्यक्ति २४० रुपैयाँ तथा बयस्कलाई प्रति व्यक्ति २६० रुपैयाँ वितरण गरिएको छ । परिवारमा एक जनामात्र सदस्य हुनेलाई थप ५०० रुपैयाँ प्रदान गरिएको थियो ।
संकलित राहतमध्ये दुई लाख छपन्न हजार सात सय अठार रुपैयाँ भने अष्ट्रेलियामा बसोबास गर्ने गैर आवासीय नेपालीबाट त्यहाँ रहेका भूटानी पर्शुराम शर्मा लुइटेलको नेतृत्वमा संकलन गरिएको हो ।
संकलित सबै रकमलाई नि:शुल्क नेपाल पठाउने व्यवस्था मिलाइदिएकोको तथा व्यावस्थापनको लागि १५,००० रुपैयाँ उपलब्ध गराइदिएकोमा सोसाइटीले लुइटेललाई धन्यवादसमेत ज्ञापन गरेको छ ।
सोसाइटीका अनुसार सबैभन्दा बढी रकम नर्वेबाट उठेको थियो भने गोलधापमा भएको आग्लागीबाट विस्थापित भएका चार जना स्थानीयलाई पनि पीडित शरणार्थीलाई जस्तै रकम वितरण गरिएको छ ।

नर्वेबाट संकलित राहत गोलधाप शिविरका ६७६ जना बाल–बालिकालाई वितरण गरिएको थियो भने गैर आवाशीय नेपाली समुदायबाट संकलन भएको रकमबाट संचार खर्चस्वरुप प्रति व्यक्ति ३०० रुपैयाँ दुबै शिविरका केही स्वयमसेवकहरुलाई वितरण गरिएको थियो ।
त्यस्तै व्यक्तिगत रुपमाभन्दा पनि भूटानीहरुका सामुदायिक संघ-संगठनबाट उत्साहित रुपमा सहयोग संकलन भएकोमा सोसाइटीले सहभागी सबै दाताहरुमा कृतज्ञता प्रकट गरेको छ ।
“हाम्रो आग्रहलाई सुनेर पीडितसामु पारदर्शी रुपले सहयोग पु–याउने मौका दिएकोमा सबै भूटानी तथा गैर आवाशीय नेपालीहरुमा भूटान मिडिया सोसाइटी धन्यवाद दिन चहान्छ,” प्रवन्धक मिश्रले भनेका छन् ।
भूटान समाचार सेवाकालागि तिलक निरौला (गोलधाप) र लाक्पा तामाङ (शनिश्चरे)