Homeनेपालीसमाचार'शरणार्थीले चाहे अधिकांश पुनर्बासित हुन सक्ने'

‘शरणार्थीले चाहे अधिकांश पुनर्बासित हुन सक्ने’

संयुक्त राष्ट्र संघीय शरणार्थीका लागि उच्चायुक्त (युएनएचसीआर) का डेपुटी कमिसनर टी. अलेक्सान्डरले अमेरिकाले भूटानी शरणार्थीहरुलाई पुनर्बास गराउने आफ्नो क्षमताका बारेमा प्रष्ट नपारेको बताएका छन् |

उनले उक्त कुरा शुक्रबार काठमाडौँमा युएनएचसीआरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बताएका हुन् |

“यस वर्ष युएनएचसीआरले करिव १५,००० भूटानी शरणार्थीहरु पुनर्बास गराउनेछ”, उनले भने | “अमेरिकाले केवल तीमध्ये ६०,००० मात्र स्विकार गर्नेछ भन्ने केही छैन | उसले पुनर्बास गर्ने आफ्नो क्षमताका बारेमा कुनै जानकारी दिएको छैन |

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै डिपुटी कमिसनर (बीचमा) साथमा अरु अधिकारीहरु

उनको भनाइअनुसार यदि शरणार्थीहरु इच्छुक भए लगभग सबैलाई पुनर्बसित गर्न सम्भव छ | उनले शरणार्थीलाई स्थानीय रुपमा नेपालमै व्यवस्थापन गर्ने सम्भावना नरहेको बताए |

“अहिलेसम्म यस सम्बन्धमा नेपाल सरकारसंग कुनै छलफल भएको छैन | तथापि हामी तीनैवटा विकल्पहरुलाई उतिकै सम्मान गर्छौं |”, अलेक्सान्डरले काठमाडौँमा पत्रकारहरुसंग भने |

उनले सुचारु तेश्रो देश पुनर्बास प्रक्रियालाई लिएर आफू सन्तुष्ट रहेको पनि उजागर गरे |

यसैबीच शरणार्थीको स्वेदेश फिर्तीका सम्बन्धमा डिपुटी कमिसनरले युएनएचसीआरले सदा शरनार्थीहरु ससम्मान स्वदेश फर्कून् भन्ने चाहेको र सधैं उनीहरुको चाहनाको सम्मान गर्ने बताए |

पत्रकारहरुको जिज्ञासाको जवाफमा उनले आफ्नो कार्यालयले झापा र मोरंगका स्थानीय बासिन्दाको बढ्दो मागलाई सम्बोधन गर्न छिट्टै समुदाय केन्द्रित विकास कार्यक्रम सुरु गर्ने बताए |

अहिलेसम्ममा युएनएचसीआरले विभिन्न आठ देशमा गरी जम्मा ६५,१९४ जना शरणार्थीहरुलाई पुनर्बास गराइसकेको छ जसमा अमेरिकाले मात्र ५४,७३१ जनालाई बासस्थान प्रदान गरेकोछ |

त्यसै गरी मे ३१ को तथ्यांकका अनुसार अष्ट्रेलियामा ३,४७६, क्यानाडामा ४,६६३, डेनमार्कमा ६१७, नेदरल्याण्डमा ३२४, नर्वेमा ५०७, न्यूजिल्याण्डमा ६५२ र बेलायतमा २२४ जना पुनर्बासित भइरहेका छन् |

अलेक्सान्डर आफ्नो चार दिने औपचारिक नेपाल भ्रमणको क्रममा मंगलबारदेखि नेपालमा थिए | नेपालमा रहंदा उनले उप-प्रधान तथा गृहमन्त्रि विजयकुमार गच्छदार साथै झापाका जिल्ला अधिकारीहरुसमेत भेट-वार्ता गरेका थिए |