अमेरिका, २९ माघ- अमेरिकामा पुनर्स्थापित र भविष्यमा पुनर्स्थापना गराइने भूटानी शरणार्थीको सहयोगका लागि ‘अमेरिकामा बसोबास’, सहयोगी पुस्तक प्रकाशित भएको छ । उक्त पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा छ ।

पुस्तकका १९ अध्यायले ३ सय ४० भन्दा बढी विषयको जानकारी दिएका छन् । पुस्तक २२४ पृष्ठको छ । न्यु ह्याम्सर राज्यको म्यानचेस्टरस्थित ‘ज्ञानज्योती केन्द्र’ नामक संस्थाले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य १४ अमेरिकी डलर छ । पुस्तक ‘ज्ञानज्योती केन्द्र’ को वेबसाइटबाट डाउनलोड गर्न पनि सकिन्छ ।
पुस्तकका १९ अध्यायहरू : पुनर्वास संस्था, आवास, शिक्षा, सामाजिक सेवाहरू र सार्वजनिक सहायता, स्वास्थ्य सेवा, खाद्य सुरक्षा तथा पोषण, जागिर र रोजगारी, व्यक्तिगत सरसफाइ र लत्ताकपडा, स्थानीय यातायात र आफ्नो गाडी, रकम व्यवस्थापन र बैंकिङ, सांस्कृतिक समायोजन र एकीकरण, अधिकार, जिम्मेवारी र कानुन, सुरक्षा र आपातकालिन अवस्थाहरू, सञ्चार, बुबा-आमा र बालबालिका, परिवार नियोजन, गर्भावस्थामा स्वास्थ्य र प्रसूति, जीवनका प्रमुख घटनाहरू, स्थायी बसोबास र नागरिकता तथा अमेरिकाबारे जानकारी हुन् ।
पुस्तकका लागि लुथरन सोसल सर्भिसेजको प्रायोजन र न्यु ह्याम्सर च्यारिटेबल फाउन्डेसनको लागत परेको छ । पुस्तकको लेखन तथा सम्पादन राजेश कोइराला र डगलस हलले गरेका छन् । अमेरिकामा निस्कने नेपाली न्युजलेटर ‘अक्षरिका’ का सम्पादक कोइरालाले दुई दशक पत्रकारिता गरेका छन् भने नेपालमा पिसकोर स्वयंसेवक, सन् १९६८-७३, रहेका हलले शरणार्थीहरूका लागि सन् २००८ मा ‘अ कन्साइज इंगलीश-नेपाली नेपाली-इंगलीश डिक्शनरी’ प्रकाशित गर्दै आएका छन् ।
सन् २००८ बाट सुरु भएको पुनर्बास कार्यक्रमअन्तर्गत अमेरिकामा हालसम्ममा पुनर्स्थापित भूटानी शरणार्थीको संख्या ५० हजार पुगेको छ ।
