विगतका वर्षझैँ यसपालि पनि व्ल्याकटाउन सिटी काउन्सिलले २५ मईका दिन व्ल्याकटाउन महोत्सवको आयोजना गरेको थियो । करिब चार वर्षदेखि यस क्षेत्रमा बसोबास गर्दै आएका भूटानी समूहको पनि उक्त महोत्सवमा उल्लेखनीय उपस्थिति रहेको देखिन्छ । “यसपालि परेडमा भाग लियौँ र प्रदर्शनीमा हाम्रा सांस्कृतिक तथा जातीय सामग्री प्रदर्शन गर्यौं, आउने वर्षहरुमा अझ व्यवस्थित तरिकाले महोत्सवमा हाम्रो सहभागिता रहने छ” एसोसिएशन अफ् भूटानिज ईन अष्ट्रेलिया (एबीए) सिडनी का अध्यक्ष डा. ओम ढुङ्गेलले बताउनु भयो ।

व्ल्याकटाउन र वरिपरिका क्षेत्रमा बसोबास गर्ने करिब ५२ समूहले कार्यक्रममा भाग लिएका थिए । विविध भाषिक, सांस्कृतिक तथा धार्मिक पृष्ठभूमि बोकेका समूहको सहभागिता रहेको उक्त महोत्सवमा परेड कार्यक्रम गरी नगरका केही भागमा परिक्रमा गरिएको थियो । परेडका क्रममा सम्बन्धित समूहको परिचय समेत सिटी काउन्सिलले मञ्चबाट गराइरहेको देखिन्थ्यो ।
अष्ट्रेलियाभित्र भिन्न सांस्कृतिक पृष्टभूमि बोकेका समूहलाई हातेमालो गर्दै र एक-अर्काबीचको संस्कृतिलाई सम्मान र जगेर्ना गर्दै लैजानुपर्ने सन्देश दिन नै वर्षेनी महोत्सवको आयोजना हुने गरेको सिटी काउन्सिलले उक्त सन्दर्भमा बताएको छ । कार्यक्रममा सांस्कृतिक भेषभूषा, खानाका परिकार तथा अन्य दैनिक उपभोग्य वस्तुको प्रदर्शनी र बेचबिखनको व्यवस्था समेत गरिएको थियो ।
यसैबीच आगामी जुलाई ३-देखि एडिलेटमा शुरु हुनलागेको दोस्रो भूटानी अन्तर्राज्य फुटबल प्रतियोगिताका निम्ति सिड्नीको ‘ड्रूक एफसी’ टीमबाट खेलाडी छनोट भइसकेको टिमका कम्तान श्री डम्बर ढुङ्गेलले जानकारी गराएका छन् । उक्त फुटबल प्रतियोगिताका निम्ति सिड्नीबाट १४ जना भूटानी खेलाडी, एकजना टीम म्यानेजर र उनीहरुका साथ एक सुडानी कोच पनि जाने तयारीमा रहेका जानकारी गराइएको छ । एबीए सिडनी-को फुटबल टीम ड्रूक एफसी-को स्थापना सन् २००९ मा सिड्नीमा भएको हो ।
अष्ट्रेलियाका विविध प्रान्तमा भूटानी समुदायका फुटबल टीम स्थापना भई गतवर्षदेखि अन्तरराज्य फुटबल प्रतियोगिता शुरु भएको हो । गत वर्ष प्रथम भूटानी अन्तरराज्य फुटबल प्रतियोगिता ब्रिसबेनमा सम्पन्न भएको थियो भने यसपाली एडिलेडमा सम्पन्न हुनलागेको यो दोस्रो अन्तरराज्य प्रतियोगिता हो ।
ड्रूक एफसी-ले प्रत्येक शनिबारका दिन वारिङटन मैदानमा फुटबलको अभ्यास गर्ने गरेको र टीमलाई दरिलो बनाउनका निम्ति Nepean Migrant Access-ले दुई जना अफ्रिकन कोच दिएको टिमका कप्तानले नै जानकारी गराए । “हाम्रो फुटबल टिमलाई समय समयमा Sydwest Blacktown, Paramatta CMRC तथा अन्य केही संस्थाले खेलका निम्ति विविध प्रकारको सहयोग प्रदान गर्ने गरेका छन्”, भूटानका भूतपूर्व राष्ट्रिय खेलाडी तथा ड्रूक एफसी- का सल्लाहकार श्री टहलमान खड्काले बताए ।
सिड्नीमा रहेका सुडानी क्लब, टिबेटन क्लब, नेपाली क्लब तथा अन्य क्लबहरुसँग प्रतियोगितात्मक तथा मैत्रीपूर्ण खेल ड्रूक एफसी-ले खेल्दै आएको छ । यस्तै क्रममा २६ मईका दिन तमु समाज सिड्नीले आयोजना गरेको मैत्रीपूर्ण खेलमा सहभागिता जानाई खेलका माध्यमबाट सामूहिक बुद्ध जयन्ती मनाउने कार्य सम्पन्न भएको थियो ।
पदम काफ्ले (समाचारदाता, सिड्नी)