Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारविभिन्न शहरमा उभौली साकेला कार्यक्रम गरिँदै

विभिन्न शहरमा उभौली साकेला कार्यक्रम गरिँदै

भूट्निज किराँत राई अर्गनाइजेसन अफ अमेरिका (ब्रोका; बिकेआरओए) ले आफ्ना शाखाहरूमार्फत किराँत राईहरूको महान पर्व उभौली साकेला २०१८ अमेरिकाका विभिन्न शहर मनाउने भएको छ । संस्थाका तर्फबाट अप्रिल ५ मा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।

खेतीपाती राम्रो होस्, अन्न धेरै फलोस्, प्राकृतिक प्रकोप नहोस् तथा समस्त मानव जातिको कल्याण होस् भन्ने पुकारका साथ यो पर्व धुमधामका साथ मनाइन्छ । किराँत धर्मावलम्वीहरू आफ्ना कुटुम्ब, इष्टमित्रसँग नाच्छन् । नाचमा ढोलक, झ्याम्टा, चौरीको पुच्छरको झुप्पा, चाम्खी आदि प्रयोग गरिन्छ । वैशाख पूर्णिमाका दिनदेखि औंसीभित्र मनाइने उभौली साकेला भुमिदेवको पूजा गर्दै विभिन्न चराचुरूङ्गीको नक्कललाई नृत्य (शिली) मा प्रस्तुत गर्दै मनाइने गरिन्छ । यस वर्षको वैशाख पूर्णिमा २०७५ साल वैशाख १७ (सन् २०१८ अप्रिल ३०) मा परेको छ ।

उभौली साकेलाबारे विज्ञप्तिमा भनिएको छ, ”अप्रिल २८ तारिखमा भर्मन्ट, मे ५ तारिखमा सिन्सिन्याटी (ओहायो), मे १३ तारिख क्लिभल्याण्ड (ओहायो), मे १९ तारिखमा एक्रन (ओहायो), मे २० तारिखमा स्प्रिङ्फिल्ड (म्यासच्युसेट्स), जुन ९ तारिखमा ईरि (पेन्सलभेनिया) मा तथा केन्द्रियस्तरको साकेला कार्यक्रम मे महिनाको २७ तारिख मेरिल्यान्डको बाल्टिमोरमा हुने सबैलाई जानकारी गर्दछौं ।”

केन्द्रिय स्तरको साकेला कार्यक्रममा शिली-नृत्यबाहेक अन्य विविध सांस्कृतिक प्रदर्शनी, मनोरञ्जनात्मक रिसिया गायन तथा नृत्यहरू पनि रहने संस्था बताउँछ । उक्त बृहत् सांस्कृतिक कार्यक्रममा उपस्थितिका लागि संस्थाले सबैलाई आह्वान पनि गरेको छ ।

उक्त कार्यक्रममा नृत्य (शिली) प्रतियोगिता पनि राखिएकाले सबै शिलीकारहरूलाई सहभागिताका लागि संस्थाले आह्वान गरेको छ । विज्ञप्तिमा ब्रोकाको वार्षिक बैठक मे २६ तारिख बिहान ठिक ११ बजेदेखि साँझ ५ बजेसम्म बाल्टिमोर शहरमा हुने पनि उल्लेख छ ।

किराँत राईहरूको मौलिक संस्कार, संस्कृति, भाषा, लिपि, र रितिरिवाज संरक्षण तथा संवर्धन गर्ने मुल उद्देश्यले उक्त संस्थाको स्थापना सन् २०१४ मा गरिएको हो । संस्थाको केन्द्रिय कार्यालय मेरिल्यान्ड राज्यको बाल्टिमोरमा छ । संस्थाले स्थापनादेखि निरन्तर रूपमा अन्य समुदायहरूसँग साझेदारी र समन्वय गर्दै समृद्ध किराँत समुदाय निर्माण, किराँत राईहरूको ऐतिहासिक गाथा, मुन्दुम लेखन, संस्कृति र भाषाको अभ्यास, उत्थान र प्रबर्धनका लागि लगातार रूपमा काम गरिरहेको छ । संस्थाले भूटानी राईहरूको अभिलेख, राईहरूको मिथक, मुन्दुम र तथ्यका आधारमा प्रत्येक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।