Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

HomeNewsलुइभिलमा ज्योतिष अनुसन्धान एवं परामर्ष केन्द्रको औपचारिक घोषणा

लुइभिलमा ज्योतिष अनुसन्धान एवं परामर्ष केन्द्रको औपचारिक घोषणा

मिति ०४/१२/२०१५ आइतवारका दिन लुइभिलमा बसेको भेलामा “ज्योतिष अनुसन्धान एवं परामर्ष केन्द्रले” लामो समयदेखि थाति रहेका महत्वपूर्ण दुई वटा कार्यलाई सम्पन्न गरेको छ ।

पहिलो कार्य अनुसन्धान केन्द्रलाई एउटा रिसर्च इन्स्टिच्युटका रूपमा अघि बढाउने र यसलाई स्वतन्त्र कार्यका रूपमा ज्योतिष, कर्मकाण्ड र वास्तुशास्त्र जस्ता महत्वपूर्ण कार्यको व्यवहारिकता, वैज्ञानिकता र सामाजिक पहललाई देश, काल र परिस्थिति अनुरूप सहज बनाउन अनुसन्धानको वातावरण तयार गरी पन्चांग, भित्तेपात्रो (क्यालेन्डर) जस्ता हिन्दु समाजका आधारभूत अङ्गहरुलाई नियमित गर्ने उद्देश्यलाई सार्वजनिक गरिएको छ ।

लुइभिल निवासी ज्योतिषी पदमलाल ढकालद्वारा लिखित र सम्पादित मारुति हिन्दु पन्चांग अब सम्पूर्ण भूटानी र नेपाली विद्वानहरुद्वारा अनुमोदित भएको र आउँदो अङ्क अझ परिमार्जित र व्यवस्थित बनाउन सबै सहयोग मिलेको जानकारी ज्योतिषी ढकालले भूटान समचार सेवालाई दिएका छन् । उक्त केन्द्रलाई सञ्चालन गर्न सम्पूर्ण हिन्दुहरूको कार्य भएको हुँदा सबैलाई आह्वाहन गर्दै केन्द्रका निर्देशक डा.लक्ष्मीनारायण ढकालले तीनवटा समितिहरूको घोषणा गरेका छन् । घोषणा अनुसार ज्योतिषीहरुको एघार सदस्यीय पन्चांग निर्णायक समिति, तीन सदस्यीय संरक्षक समिति र तीन सदस्यीय सम्पादक मण्डली छन् ।

संरक्षणको जिम्मेवारी वहन गरी हिन्दु समाज र ज्योतिषीहरुलाई नयाँ स्थानमा दिशा दिन वेदनिधि सुबेदी, दामोदर नेपाल र सीताराम अधिकारी छानिएका छन् |

त्यसै गरी पन्चांग निर्णायक समितिमा कमलदेव अधिकारी अध्यक्षमा सर्व सहमतिले मनोनीत भएका छन् भने अन्य ११ सदस्यहरू विभिन्न राज्यबाट छानिएका छन् | पन्चांग सम्पादन मण्डलीमा ज्यो.पं. कमलदेव अधिकारी, ज्यो. पदमलाल ढकाल अनि डा.लक्ष्मीनारायण ढकाल (संयोजक एवं भाषा सम्पादक) रहेका छन् ।

उपर्युक्त समितिका अतिरिक्त केन्द्रलाई सञ्चालन गर्न पाँच सदस्यको सञ्चालक समितिमा डा.हरि प्रसाद अधिकारी (वाराणसी), डा. लक्ष्मीनारायण ढकाल (केद्र निर्देशक),पं. चक्रपाणि अधिकारी(सलाहकार), विनोद पौडेल (सलाहकार) र लिला मिश्र (सलाहकार) मनोनीत भएका छन् ।

केन्द्रले अनुसन्धानका आधारमा पन्चाङ्ग निर्माण कार्य मात्र नभई ज्योतिषीहरुलाई समावेश गर्दै संसाधन जुटाउने र यो विज्ञान पनि भएकाले आधुनिक भूगोल र विज्ञानका अध्येताहरूलाई यस विषयसँग जोड्ने कार्य गर्नेछ र साथै नयाँ पिँढीलाई ज्योतिष, कर्मकाण्ड, वास्तुजस्ता महत्वपूर्ण विषयमा प्रेरित गरी प्रशिक्षणको व्यवस्था गरिने योजना बनाएको छ ।

फोन वार्ता मार्फत गरिएको भेलामा सहभागी सबै ज्योतिषीहरुले मारुति पन्चांग समाजका निम्ति कोसेढुङ्गो साबित भएको र यसमा भएका कमी कमजोरीहरुलाई सबै मिलेर परिष्कृत, संशोधित र नियन्त्रित गरिनु पर्नेमा जोड दिएका थिए । उनीहरूले सम्पूर्ण अन्य क्यालेन्डर निर्माताहरुसँग ज्योतिषीय गणनामा एकरुपता हुनु पर्ने पानि बताए।

यस भेलामा आफ्ना विचार राख्ने र सल्लाह दिने स्थानीय सहभागीहरुमा निर्मल गुरागाई, कृष्ण ढकाल, विष्णु पोखरेल, प्रेम आचार्य थिए।