
मिनिसोटा राज्यको सेन्ट पलमा गत मार्च १२ का दिन सम्पन्न एक विशेष कार्यक्रममा नेपाली भाषाको पाठ्यपुस्तक सार्वजनिक गरिएको छ।
वैदिक धर्म समाज, मिनिसोटाको आयोजनामा समितिका सल्लाहकार तथा वरिष्ठ मनोचिकित्सक डा. छविलाल शर्मा तिम्सिनाको सभापतित्व र मिनिसोटा स्टेटका सिनेटर फंग हावजको मुख्य आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान सँगसँगै सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्ने क्रममा ‘हाम्रो नेपाली भाषा – भाग १’ नाम दिइएको उक्त पाठ्यपुस्तकका लेखक खिम खतिवडाले पुनर्बासपछि विभिन्न देशहरूमा बसोबास गर्दै आएका हजुबा-हजुरआमा तथा उनीहरूका नाति-नातिनाबीच बोलीचाली कायम राख्न पनि नेपाली भाषाको पाठ्यपुस्तकको आवश्यकता रहेको बताए।
विद्यालय जाने उमेरका बालबच्चाहरु अभ्यस्त हुँदै गरेको शिक्षण प्रणालीसँग मिल्दोजुल्दो शैक्षिक सामग्री विकासमा जोड दिँदै कार्यक्रमपछि प्रकाशित विज्ञप्तिमा भनिएको छ, “नेपालबाट प्रकाशित विभिन्न पाठ्यपुस्तकहरू बजारमा पाइन्छन् तर प्रायः सबैजसो ती पुस्तकहरू नेपाली परिवेशमा लेखिएका छन्। हामीले सुरुमा सुनाइ र बोलाइसम्बन्धि शीपहरूलाई प्राथमिकता दिनुपर्दछ किनकि हाम्रा बालबच्चाहरूले शुद्धसँग नेपाली बोली मात्र दिए भने पनि ठुलो उपलब्धि हुन्छ।’’
यसै क्रममा नेपाली भाषाको क्षेत्रमा लामो समयदेखि अध्ययन एवं अनुसन्धान गर्दै आइरहेका भूटानी विद्वान् डा. लक्ष्मीनारायण ढकालले ‘भाषा वर्ष अभियान’ अन्तर्गत डायास्पोरामा जन्मिएको नयाँ पुस्तालाई मातृभाषा नेपालीको परम्परा कायम राख्न बहुआयामिक कार्यहरूको आवश्यकता रहेको उल्लेख गरे।
भूटानीहरु पुनर्बास भएका धेरै ठाउँहरूमा नेपाली भाषा शिक्षण सुरु हुँदै गरेको वर्तमान परिप्रेक्ष्यमा यो पुस्तक सहयोगी हुने अपेक्षा गरिएको छ।

Comments are closed.