न्यु ह्याम्सर । भूटानी साहित्य महोत्सव तथा साहित्य परिषद, भूटान सम्मेलनको तयारी पूरा भएको छ । अमेरिकाको ओहायो राज्यको सिन्सिन्याटीमा जून ९–१० मा हुने उक्त कार्यक्रम साहित्य परिषद, भूटानलाई भूट्निज कम्युनिटी अफ सिन्सिन्याटीको सहयोगमा गर्दैछ । कार्यक्रम स्थल ६८० वेस्ट श्यारोन रोड, सिन्सिन्याटी, ओहायो ४५२४० (680 W Sharon Rd, Cincinnati, OH 45240) हो ।
कार्यक्रममा गंगा लामिटारेको ‘तरङ्ग‘, खेम रिजालको ‘धूमिल जून‘, प्रतिमान सिवाको ‘म जयमायाको सन्तान‘, खगेन्द्र भण्डारीको ‘सम्झनामा देश‘, ‘समकालीन भूटानी नेपाली कथा‘, ‘फूलको धार‘, आभास रिखाम मगर ‘प्रश्नहरूको पहाड‘, तुम्बेहाङ लिम्बुको ‘किनाराको प्रश्न‘,
मनोज राईको गीति एल्बम गरी ८ पुस्तक र २ गीति एल्बम आदि कृति सार्वजनिक गरिने छ ।
कार्यक्रममा नर्वे, नेपाल, क्यानडा, अष्ट्रेलिया, अमेरिकाका विभिन्न राज्यबाट पनि सहभागिता हुनेछ । कार्यक्रममा गीत–संगीतकार आदिका साथै समुदायलाई फरक ढंगले नेतृत्व गर्ने व्यक्तित्वहरूको पनि उपस्थिति रहने छ । कार्यक्रम दुई दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
कार्यक्रमका प्रायोजकमा फेमिली ग्रोसरी (एक्रन, ओहायो), एएस इन्स्योरेन्स (न्यु ह्याम्सर, ओहायो, पेन्सलभेनिया), मनोरथ पोखरेल, नारायण भारती (पेन्सलभेनिया), दुर्गा तिम्सिना (कोलम्बस, ओहायो), एनके ब्रदर्स (सिन्सिन्याटी, ओहायो), नमस्ते करी हाउस (सिन्सिन्याटी, ओहायो), छवि न्यौपाने (सिन्सिन्याटी, ओहायो) आदि छन् ।
”नेपालमा रहँदा स्थापित साहित्य परिषद भूटानको यो ठूलो र औपचारिक सम्मेलन हो,” आयोजक संस्थाका खेम रिजालले भूटान न्युज सर्भिसलाई भन्नुभयो । सन् १९९३ मा स्थापित साहित्य परिषद भूटान भूटानी साहित्यको सबैभन्दा जेठो संस्था हो । स्थापना हुँदा यसको नाम नेपाली भाषा परिषद, भूटान थियो । सन् २००४ मा यस संस्थालाई नेपाली साहित्य परिषद, भूटानमा रूपान्तरण गरियो । यसलाई सन् २०११ मा भूटान साहित्य परिषदका रूपमा रुपान्तरित गरियो । सन् २०१४ को डिसेम्बरमा साहित्य परिषद् – भूटानले नयाँ निर्देशक–मण्डली (बोर्ड अफ् डाइरेक्टर्स) र कार्यसमितिसहितको नयाँ नेतृत्त्व पाएको थियो ।


Comments are closed.