जुलाई १४ का दिन अमेरिकाको पेन्सिभेनिया राज्यस्थित पिट्सबर्ग नगरीको स्मिथ फिल्डमा अवस्थित ह्यूमन रिसोर्स सर्भिस सेन्टरको भवनमा भूटानी समाज पिट्सबर्गद्वारा आयोजित १९९ औं भानुजयन्ती समारोहले नेपाली भाषाका नाट्यसम्राट बालकृष्ण समका माथिका पंक्तिहरूलाई पुनरावृत गराइदियो ।
कवि भानुभक्त आचार्यको स्मृति गर्दै कार्यक्रमका मुख्य अतिथि भक्त घिमिरेद्वारा दीप प्रज्वलन तथा भूटानी स्रष्टा सञ्चमान खालिङको स्वागत मन्तव्यबाट शुरु गरिएको सो कार्यक्रममा रामायणको सुन्दरकाण्ड वाचन, विभिन्न दर्जाका कविता प्रतियोगिता र नृत्य-गानहरू प्रस्तुत गरिएको थियो ।
‘‘भूटानबाट आफ्नो भाषा-संस्कृतिसहित सम्पूर्ण जायजेथाबाट वञ्चित भई नेपालमा शरणार्थी बनेको हाम्रो समाज शिविरमा रहँदादेखि आजको वर्तमान अवस्थासम्म भाषा र संस्कृतिको संरक्षणको सवालमा लगातार डटिरहेको छ’’-सो समारोहका मुख्य वक्ताहरूले आ-आफ्नो मन्तव्यमा विशेषरूपमा यिनै कुरा दर्शाए । नौलो मुलुक, नयाँ समाज र सम्पूर्ण परिवेश अनौठो भएर पनि, जीवनयापनको माध्यम अति व्यस्ततामुखी भएर पनि भाषा र संस्कृतिको जगेर्नातर्फ सधैं सचेत रहने सो कार्यक्रमा आयोजक, वक्ता तथा सबै सहभागीहरूको प्रतिबद्धता विभिन्न क्रियाकलापहरूले झल्काइरहेका थिए ।
पिट्सबर्गबासी भूटानीहरूका अग्रज बुद्धिजीवी केएन तिम्सिनाको सभापतित्व तथा उमा गौतम र तारा फुयलको उद्घोषणमा सञ्चालित सो कार्यक्रममा स्थानीय भूटानी विद्धार्थीहरूले उल्लेखयोग्य स्वयंसेवा प्रदान गरेका थिए ।
भूटानी समाज पिट्सबर्गका बलराम गुरुङ, अग्रज अशोक गुरुङलगायतले कार्यक्रमको संयोजनमा भूमिका खेलेका थिए भने भूटान साहित्य परिषदका जनसम्पर्क संयोजक रुपनारायण पोखरेल, परिषदकै अर्थ संयोजक डोना आचार्य, ईरीबासी भूटानी साहित्यिक स्रष्टा झगेन धिमाललगायतको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालका जय शाह र भारतका पञ्कज लाठिया समेतको उपस्थिति थियो ।