Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपाली"बाँकी रहेका शरणार्थीका लागि समाधान खोज्न यु. एन्. एच्. सी. आर प्रतिबद्ध"

“बाँकी रहेका शरणार्थीका लागि समाधान खोज्न यु. एन्. एच्. सी. आर प्रतिबद्ध”

शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्त (यु. एन्. एच्. सी.आर) ले नेपालको शरणार्थी शिविरहरूमा बाँकी रहने सम्भावना भएका भूटानी शरणार्थीहरुका लागि समाधान खोज्न प्रतिबद्ध रहेको कुरा बताएको छ।

झापामा संवाददाताहरुसँग कुरा गर्दै यु. एन्. एच्. सी.आरको दमकस्थित उप-कार्यालय प्रमुख शिन्जी कुबोले ती शरणार्थीहरुकालागि दीर्घकालीन समाधान खोज्ने आफ्नो अडान दोहोर्याएका छन्।

“यु. एन्. एच्. सी.आर नेपाल सरकारका साथै शरणार्थी पुनर्स्थापित गर्ने देशहरूले प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय समुदायसँग सबै शरणार्थीका लागि दीर्घकालीन समाधान खोज्न सहकार्य गरिरहेको छ,” कुबोले भने। “त्यस्तो कार्य पुनर्बास, स्वैच्छिक देश फिर्ती र नेपालमा रहने शरणार्थीहरुका लागि समाधान मार्फत हुनेछ,” उनले थपे।

उनले यु. एन्. एच्. सी.आरले थप पहल गर्ने सङ्केत गर्दै भने, “शिविरमा बाँकी रहेका शरणार्थीहरुका लागि कुनै कसर बाँकी राखिने छैन।”

उनका अनुसार यु. एन्. एच्. सी.आर सबै शरणार्थीका लागि समाधान हासिल गर्न प्रतिबद्ध छ।

“हामीले नेपाल सरकार, नेपाली जनता, शरणार्थी समुदाय र अन्तर्राष्ट्रिय समुदायसँग पहिला जस्तै सहकार्य गर्न आवश्यक छ,” उनले भने।

ठुलो सङ्ख्यामा शरणार्थी पुनर्बास जारी रहँदा शिविरको जनसङ्ख्या घट्दै गएको उल्लेख गर्दै उनले भने, “यो अवस्था शिविरमा बाँकी रहेकाहरुका लागि दुर्भाग्यपूर्ण साबित भएको छ तर हामी यहाँ रहनेहरुलाई निरन्तर सहयोग गरिरहने छौँ।“

यसैबिच भूटानी शरणार्थी शिविर बेलडाँगी र शनिश्चरेमा विविध कार्यक्रम माझ सयौँको सङ्ख्यामा शरणार्थी, उनीहरूका नेता तथा विभिन्न सहायता निकायका प्रतिनिधिहरूले संयुक्त रूप १६ औं विश्व शरणार्थी दिवस मनाएका छन्।

 

भूटान समाचार सेवाका लागि झापाबाट डिकेश लामाद्वारा संप्रेषित।