मोरङको शनिश्चरेस्थित भूटानी शरणार्थी शिविरमा शिविर स्तरीय ऐतिहासिक खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधि शनिश्चरेको युनिक युथ क्लबले हात पारेको छ ।

आइतबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा युनिकका खेलाडी कमल कालिकोटेको एक गोल नै जितको लागि निर्णायक गोल बन्यो । देबीचरण तिम्सिना स्मृति प्रतिष्ठानको सहयोगमा भएको प्रतियोगिताको बिजेता टिमले नगद रु. ३० हजार सहित ट्रफी हात पारेको छ भने उपबिजेता झापा बेल्डाँगी शिविरको योङ गाइजले नगद २० हजार सहित ट्रफी प्राप्त गरेको छ ।
गत पुस ५ गतेदेखि भएको प्रतियोगितामा झापा र मोरङका ११ भूटानी शरणार्थी टिमको सहभागिता रहेको आयोजक समितिका सदस्य सचिव ओमप्रकाश अधिकारीले बताए ।
सो अवसरमा गत वर्ष प्रवेशिकामा उत्कृष्ट हुने दुई शरणार्थी छात्र छात्राहरु लक्ष्मण राई र दिपा अधिकारीलाई प्रतिष्ठानले उपलब्ध गराउने निर्णय गरेको वार्षिक ४० हजार दरको छात्रबृत्तीको पहिलो किस्ता जनही बीस हजारका दरले बितरण पनि गरियो । कार्यक्रममा भूटानी शरणार्थी सहायतामा संलग्न राष्ट्रसंघिय शरणार्थी समबन्धी उच्च आयोगको स्थानीय इकाई र उसका सहकर्मी संस्थाहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा कारितास नेपाल, युएनएचसीआर, एलडब्लुएफ, आम्दा नेपाललागयातका संस्थाका प्रतिनिधिलाई सम्मान गरिएको थियो ।
सौजन्यः हेम गिरी