Sunday, April 20, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारप्रेमीको 'विश्वासघात'पछि तास्मानियामा नर्सिंगकी एक विद्यार्थीद्वारा आत्महत्या

प्रेमीको ‘विश्वासघात’पछि तास्मानियामा नर्सिंगकी एक विद्यार्थीद्वारा आत्महत्या

दक्षिण तास्मानियामा नर्सिंगकी विद्यार्थी रहेकी एक २२ वर्षीया भूटानी युवती, हरी थापाले शुक्रवार आत्महत्या गरेको जानकारी प्राप्त भएको छ | आत्महत्याको घटनालाई हरीका दाजुले परिवारले बेहोरेको सबैभन्दा दुखद् घटना भएको बताएका छन् | मृतकको परिवार १७ महिना अघि झापाको बेलडाँगी शिविरबाट अष्ट्रेलियामा पुनर्बासित भएको थियो |

उनले बिहीवार फेसबुकमा यो तस्वीर राखेकी थिइन् |

आज बिहानै उनले झुण्डिएर आत्महत्या गरेको खबर फैलँदा उनका दर्जनौँ फेसबुक साथीहरु मर्माहत भएका थिए |

उनले आत्महत्या गर्नुअघि फेसबुकमा प्रकाशित गरेको भिडियोबाट उनले आफ्नो प्रेमीबाट विश्वासघात बेहोरेको प्रष्ट हुन्छ |

शिविरमा बाँकी रहेका एक मात्र परिवारका सदस्य, उनका दाजु छत्र थापाले आफ्नी बहिनी अद्भुत, मिलनसार, परिश्रमी तथा समाजदार केटी भएको बताए |

“अष्ट्रेलियामा अनुसन्धान जारी छ तथापि आत्महत्याको कारण उनले आफ्नो प्रेमीबाट बेहोर्नु परेको विश्वासघातले जन्माएको मानसिकता हुनु पर्छ”, उनले भूटान समाचार सेवासंग भने |

अष्ट्रेलियामा अनुसन्धान भइरहेको जनाउँदै परिवार जनले हरीको प्रेमीको बारेमा अद्यापि जानकारी दिएका  छैनन् |

तर उनको लामो प्रेमप्रसंगसंग जानकार उनका केही साथीहरुले आफ्नो प्रेमी औपचारिक रुपमा अमेरिकामा अर्कै केटीसँग लगनगाँठो कस्ने तयारीमा रहेको थाहा पाएपछि उनी तनावपूर्ण अवस्थामा रहेको जनाएका छन् |

उनको फेसबुक प्रोफाइल पृष्ठ हेर्ने जो कोहीले पनि थाहा पाउँछ कि उनी लामो समयदेखि पीडा र आघातको चपेटामा फँसेकी थिइन् | यसले आमाबुबा तथा अभिभावकहरुले मानव जीवनको अपूरणीय क्षति रोक्न आफ्ना बालबच्चाहरुले सामाजिक संजालका साइटहरुमा प्रेषित गर्ने सामग्रीहरुमा नियमित रुपमा निगरानी राख्नु पर्ने पाठ पढाएको छ |

बेलडाँगी २ बाट हरिकुमार दाहालको सहयोगमा सम्प्रेषित

थापाले आफ्नो फेसबुकमा राखेको अन्तिम भिडियो | सौजन्य: छत्र थापा