पूर्वपश्चिम राजमार्ग अन्तर्गत दमकको हिमालय चियावगान अगाडि १६ फागुन अपराह्न डकैती तथा ज्यान मुद्दाका आरोपी एक भूटानी युवक प्रहारीसँगको मुठभेडमा घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोरङको शनिश्चरेस्थित शरणार्थी शिविरमा बस्ने यी युवकमाथि दमकमा बैङ्क डकैती, मोरङमा सुनपसल लुटपाट र हत्याको अभियोग लागेको बताइएकोछ ।
चियाबगान अगाडिको चिया पसल नजिक रहेका करिब २९ वर्षीय उनलाई सादा पोषाकमा रहेका प्रहरीले शङ्का लागी बोलाउँदा उनले प्रहरीसँग भएको पिस्तोल खोस्न खोजेको र त्यसक्रममा भएको मुठभेडमा बायाँ कोखामा गोली लागी उनी घाइते भएको प्रहरी उपरीक्षक मुकुन्द आचार्यले बताए ।
घाइते ती युवकलाई दमकस्थित लाइफलाइन अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।