Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीपाठ्यक्रम विकासमा लाग्यो साहित्य परिषद्

पाठ्यक्रम विकासमा लाग्यो साहित्य परिषद्

 

अमेरिकामा केन्द्रियता रहेको साहित्य परिषद्-भूटानले संसारभरि फैलिएका भूटानका नेपालीभाषीहरुको लागि उपयुक्त हुने किसिमको पाठ्यक्रम विकास गर्ने निर्णय गरी त्यसतर्फ काम शुरु भएको जनाएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्द्धनका लागि दशकौंदेखि काम गर्दै आएको परिषद्-को गतवर्षको दिसम्बर महिनामा सम्पन्न चुनाउपछि नै यस दिशामा योजना तर्जुमा गरी प्रक्रियागतरूपमा काम शुरु गरिएको जनाइएको छ ।

नेपाली र संस्कृत भाषामा एम.ए./बी.एड् श्री खिम खतिवडाले नेतृत्व गरेको साहित्य परिषदको सो पाठ्यक्रम समितिमा डा. खेम नेपाल (पि.एच.डी. दर्शन शास्त्रमा, एम. ए. संस्कृत र नेपालीमा), डा. लक्ष्मीनारायण ढकाल (विद्यावारिधी दर्शन शास्त्रमा, एम. ए. संस्कृतमा, पोस्ट ग्रेजुएट र बी. एड्. नेपालीमा ), श्री सोम आचार्य (एम.ए., बी. एड्. अङ्ग्रेजीमा) र युवा कवि श्री खगेन्द्र भण्डारी ‘जन्तरे’ (स्नातक, विज्ञानमा) गरी जम्मा पाँच सदस्य रहेका छन् ।

नेपालबाट प्रकाशित पाठ्यक्रम एवं पाठ्यपुस्तक पाठ्यभार तथा सामाजिक, भौगोलिक, राजनैतिक आदि विभिन्न परिस्थितिका दृष्टिले पनि डायस्पोराका विद्यार्थीकालागि उपयुक्त नहुने देखेर साहित्य परिषद्-भूटानले आफ्नै बलबुतामा पाठ्यक्रम निर्माण गर्नुपर्ने ठहर गरी यो काम थालिएको परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पाठ्यक्रम समितिका निर्देशक खतिवडालाई उद्धृत गर्दै परिषद्को विज्ञप्तिमा भनिएको छ,“पाठ्यक्रम भन्ने कुरा निरन्तर संशोधन र परिमार्जन गरिरहनुपर्ने कुरा हो त्यसैले यो कार्य यति समयमा सकिन्छ भनेर तोक्न सजिलो नभए तापनि यो पहिलो चरणको कार्य भएको हुँदा यस पाठ्यक्रमलाई लगभग वर्षदिन भित्रमा तयार पार्ने समितिको योजना छ ।”