पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग नगरनिवासी हिन्दूहरुको बहुप्रतीक्षित सामुदायिक भवन तथा आराधनास्थलको निर्माण अर्को सातादेखि शुरु हुने भएको छ । नवहरिहरधाम परियोजना अन्तरगत बन्न लागेको सो सामुदायिक भवन/मन्दिरको शिल्यान्यास यही मई १९, २०१९ को दिन हुने ‘अर्गनाइजेसन फर हिन्दु रिलिजन एण्ड कल्चर’ (ओ.एच.आर.सी.) ले जनाएको छ ।
योजना अनुसार सो स्थलको निर्माणकार्य सकिएपछि समुदायका सबै हिन्दूहरुले आफ्नो संस्कार अनुकूल धार्मिक तथा सामाजिक गतिविधि गर्नपाउने बताएको छ ।
अहिलेसम्म स्थानीयस्तरका सामुदायिक सेवाप्रदान गर्ने संस्थाहरुबाट सहयोगस्वरूप सरकारी तथा निजी भवन, सार्वजनिक पार्क, विद्यालय आदिमा हाम्रा कार्यक्रमहरु हुँदै आएका थिए । विविध असुविधाका कारण हामीले त्यस्ता स्थान पाउन छोडेका छौं । अतः नवहरिहरिहरधाम परियोजनामा आफ्नै भवन तयार भएपछि धेरै भन्दा धेरै समस्या कम हुने र बिशेष गरी बयोवृद्धहरुका लागि एउटा सामाजिक भेट-घट मार्फत एक्लोपन महसुसमा सुधार हुने अपेक्षा गरेको ओ.एच.आर.सी. स्रोतले भनेको छ ।
सो परियोजना निर्माणकार्यका लागि ओ.एच.आर.सी. ले विभिन्न कार्यक्रम तथा अभियानमार्फत आर्थिक संकलन पनि गर्दै आएको छ । गत अप्रिल महिनामा सम्पन्न वाल्मीकीय रामायण नवाह ज्ञानमहायज्ञमा मात्र ३ लाख ८७ हजार ५ सय ९० डलर ($3,87,590) संकलन भएको संस्थाका अध्यक्ष तुलाराम नेउपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । सो नवाह ज्ञानमहायज्ञ गत अप्रिल महिनाको ६ देखि १४ तारिखसम्म सञ्चालन गरिएको थियो । यसबाहेक समाजका व्यक्तिविशेष, परिवारहरु र सेवाप्रदायक संघ-संस्थाहरुले पनि निकै लामो समयदेखि ओ.एच.आर.सीलाई सो परियोजना सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरिरहेका जनाइएको छ । प्राप्त प्रेस विज्ञप्तिमार्फत ओ.एच.आर.सीले सबै सहयोगीहरुमा कृतज्ञता प्रकट पनि गरेको छ ।
समाजमा उचित आध्यात्मिक शिक्षाको अभाव, परम्परावादी सिकिर्ण सोच र समयको मागलाई उचित सम्बोधन नगरिएका कारण हिन्दु धर्मवलम्वीहरु बीच वैचारिक र व्यवहारिक दुरी बढ्दो छ । समुदायलाई देश-काल र परिस्थिति अनुरुप संस्कार-संस्कृतिमा आबद्ध गराई एकताबद्ध गर्दै पूर्वीय सभ्यता पूर्वको लागिमात्र नभई सारा जगतकै लागि आवश्यक भएको सो नवाह ज्ञानमहायज्ञमा सरिक हुनुहुने सबैको बुझाई रहेको पाईएको छ ।
यसै विचारलाई प्रमुखता दिई अघि बढाइएका अभियानमा ओ.एच.आर.सी.लाई लगातार साथ दिएर आशीर्वाद प्रदान गर्नुभएको भन्दै आचार्य श्रीचक्रपाणी (सीताराम अधिकारी) लाई कद्दरपत्रले सम्मान गरिएको पनि संस्थाको विज्ञप्तिमा जनाइएको छ । आचार्य चक्रपाणीका साथमा पण्डित हरिविनोद अधिकारी, पण्डित रामकृष्ण सुवेदी, पण्डित यदुढकाल र पण्डित केदार ढुंगेललगायतका धार्मिक अभिन्ताहरुलाई पनि धन्यवादका शब्दहार पहिऱ्याइ प्रशंसा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सोही अवसरमा एकल परम्पराको मार्ग छोडेर सिंगै समाजलाई संस्कार- संस्कृतिमा आबद्ध गराई लैजानुपर्ने मत एकातिर अनि एउटैमात्र सम्प्रदायको पक्षपोषण गर्दै त्यसैको प्रवर्द्धनमा सकल ऊर्जाको लगानी गर्नुपर्ने मत अर्कोतिर भएर ह्यारिसबर्गवासी समाजको सामुदायिक एकतामा चोट लागेको कुरा ओ.एच.आर.सी. ले व्यक्त गरेको छ ।
ओ.एच.आर.सी. का सामाजिक गतिविधिसित भिन्न मत राखी २०१८’को नोभेम्बरमा स्थापना भएको श्रीवैष्णव परिषद-ह्यारिसबर्गले समेत एउटै समयमा एउटै कार्यक्रमको आयोजना गरेको थियो । ओ.एच.आर.सीसित कार्यक्रमको समय जुधाउँदै वाल्मीकीय रामायण ज्ञानमहायज्ञको नौदिने कार्यक्रम आयोजना गरी परिषदले ह्यारिसबर्गमै श्रीलक्ष्मीनारायण मन्दिर तथा श्री वैष्णव सम्प्रदायका गुरु योगिराज श्रीकमलानयनाचार्य स्मृति पीठ स्थापनाको घोषणासहित आचार्य श्री केशव खतिवडालाई त्यसका पिठाधीश नियुक्तसमेत गरेको थियो । समानान्तररुपमा एकै ठाउमा एकै नामको कार्य हुनुलाई सामाजिक एकता र सद्भाव अप्ठ्यारोमा परेको सचेत समाजबासीहरुले बताएका छन् ।
समानान्तर कार्यक्रमले आन्तरिक प्रतिस्पर्धा जस्तो देखियो नि भन्ने बिषयमा जानकारी लिंदा श्रीवैष्णव परिषद-ह्यारिसबर्गका अध्यक्ष श्री टिका ढुंगानाले “ देख्नमा त्यस्तो भएता पनि यो हाम्रो पूर्व निर्धारित कार्यक्रम हो र हाम्रो कर्यक्रम बिशुद्ध हाम्रा आराध्यदेव प्रति समर्पित भएको हुनाले र अर्को कार्यक्रम सामाजिक प्रकृतिको भएको हुनाले यो आन्तरिक प्रतिस्पर्धा हुनै सक्तैन”, भनी बताएका छन् । यसलाई सम्योग मात्र भएको बुझिदिन ढुंगानाले सबैमा अग्रह गरेका छन् ।
ओ.एच.आर.सी.ले आफ्नो विज्ञप्तिमार्फत, “यो कार्यक्रम धार्मिक/ सांस्कृतिक चेतना जागरणका लागि लक्षित रहेकोले यहाँ कुनै निश्चित जाति, वर्ग, समुदाय वा भिन्न गुरु परम्पराका अनुयायीहरुलाई फरक व्यवहार नगरी ‘बसुधैव कुटुम्बकम’ को सिद्धान्त परिपालन भएको बताएको छ । हामीमध्येको अधिकांश जनसंख्या ‘एक राष्ट्र -एकप्रजा- नीति’ को नामबाट उदाएको नश्लीय तथा एवं विभेदीकरणको चपेटामा परेर देशनिकालामा परेको कुरा यदि सबैको लागि स्थापित सत्य हो भने हामीहरुले कमसे कम सामुदायिक साझेदारीको अभ्यास गर्न हाम्रा सन्ततीहरुलाई आजैदेखि सिकाउनु जरुरी छ । यदि त्यस्तो साझेदारी सिकाएनौं भने सामाजिक अस्तित्वका लागि हामीले गर्ने संघर्षको हल्ला ‘हो हो पाडरी पाडरी’ मा सीमित हुनेछ । हाम्रा आदर्शका प्रवचनहरु अव्यावहारिक अर्तीमात्र साबित हुनेछन् ”, भन्ने जनाएको छ ।
“पुनर्वाशपछि शुरु भएको एक खाले संक्रमणकालको अवस्थालाई पार गर्दै हाम्रो समाज पुस्तान्तरणको स्थितिमा पुगेको छ । यतिबेला हामीले सामुदायिक साझेदारीको यस चिन्तनलाई चरितार्थ गर्न बहुजातीय, बहुसांस्कृतिक मान्यताको समन्वयमुखी संस्कार स्थापित गर्नुपर्ने भएको छ । एक एकलाई जोडेरमात्र हाम्रो संक्रमणकालीन साझा लक्ष्यमा पुग्न सकिन्छ । हाम्रो अस्तित्वको रक्षा गर्न सकिन्छ । एक एक र अनेकमा टुक्रिएर हाम्रो सामुदायिक साझेदारीको रक्षा हुन सम्भव छैन”, भन्ने ओ.एच.आर.सी.ले जनाएको छ ।
“भन्नलाई त आफ्नै चित्त बुझाउनका लागि मान्छेले ‘भगवानको नाम जति ठाउँमा जपे पनि हुन्छ, मन्दिर जतिवटा बनाए पनि हुन्छ’ भन्लान् ! तर समाजलाई फुटाइएकोमा भित्रभित्रै कुँडिएको उनीहरुको मन भने कसैले पनि देख्तैन । फुटाउने कुरामा जिम्मेवार केही मानिसहरुले आ-आफ्नो दलील सही थियो भनेर वकालत नै गर्लान् । तर, हाम्रो समाजले देश, काल र परिस्थितिको कुरा अनुभूत गर्नुपर्थ्यो ! नाम नाम नाम ! सबैलाई नाम र पद चाहिएको ! नाम त वर-पिपल रोप्नेको पनि हुन्छ फाँड्नेको पनि हुन्छ ! अब यिनले कुनखाले नाम राख्ने हुन्”-ओ.एच.आर.सी. द्वारा आयोजित नवायज्ञको समापन समारोहमा उपस्थित एक प्रौढले आफ्नो नाम नराखिदिने आग्रह गर्दै भने ।
सोही कार्यक्रममा कथाश्रवणका लागि मेरील्याण्डको बाल्टिमोरबाट आएका लीला शर्माले भने, “ह्यारिसबर्ग भनेको एउटा सिटी हो, एउटै सिटीभित्र, एउटै भाषा, एउटै संस्कृति र परम्परा मान्ने जमात, एउटै पीडा भोगेर २० वर्षसम्म एकैखाले छाप्रामा बाँचेर आएका, एउटै योगिराज गुरुका शिष्यहरु, एउटै गाउँमा दुई अलग अलग मण्डप राखेर अलग अलग पण्डितहरु जुटेर एउटै भगवान (राम) को गुणगान गरेको भन्छन् । खै के गुणगान भनौं यो ! अझ त्यसमाथि कुनै पण्डितहरु गाउँ गाउँ घुमेर मानिसहरुलाई ‘फलानाको कार्यक्रममा जाऊ, भन्दै उर्दी जारी गरी हिँडेका पनि पाइयो । यसो गर्दा यहाँ भगवानको गुणगान भयो कि के भयो, आफैं अनुमान गर्नुहोस् ! मलाई त यो धर्मको नाममा व्यक्तिविशेष र ससाना गुटको लिप्सा पूरा गर्ने नौटंकी झैं लाग्यो !”
अर्का एक स्थानीय सामाजिक अभियन्ताले भने,“ह्यारिसबर्गको समाजलाई जोड्ने भन्दा तोड्ने उदाहरण पेश गऱ्यो भनेर आरोप नै आइलागेको छ । यद्यपि, यो कुरो ह्यारिसबर्गमा मात्र होइन, सबैतिर हुँदै आएको हो । यस्तो विभाजन हाम्रो समाजमा मात्र हुने कुरा पनि होइन । समाजको पहिचान र अस्तित्वरक्षा गर्ने भनेर नारा दिइरहेका व्यक्ति र वुद्धिजीवीहरुका लागि यो चुनौती हो । हरेक मानव समुदायमा भिन्न विचार, भिन्न सरोकार र भिन्न उद्देश्यका मानिसहरु हुन्छन् । तर, ती सबैखाले विचार, सरोकार र उद्देश्यहरुलाई साझा बनाएर समझदारी कायम गर्दै अघि बढेमा त्यो समाज अरुको लागि पनि उदाहरणीय बन्नसक्छ !”
सम्पन्न नवाह महायज्ञ तथा नवहरिहरधाम परियोजना निर्माणको सम्पूर्ण अभियानमा योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापनसहित सामाजिक एकताको लागि जोड दिँदै ओ.एच.आर.सीले, “एउटा कार्यात्मक समूहको अभ्यस्त साझेदारीबाट मात्र कुनै पनि संगठनका लक्षित योजनाहरु अघि बढ्दछन् भन्ने कुरामा हामी विश्वास गर्दछौं । अतः पूर्वीय सभ्यता, संस्कृति, आध्यात्मिक दर्शन तथा ओएचआरसीको आदर्श, र दृष्टिकोणलाई चरितार्थ गर्ने दिशामा यहाँहरुबाट प्रदर्शित चासो र सक्रियताले हामी सबैलाई गौरवान्वित तुल्याएको छ । माथि उल्लेख गरिए अनुरुपको नवाहमहायज्ञ कार्यक्रमको समापनपछि हामीले आफ्नो संस्कृति र समाजको साझा अस्तित्वरक्षाको उद्देश्यमा एकताबद्ध भएर पूर्ण समर्पणका साथ काम गरेमा कहिल्यै असफल हुनुपर्दैन भन्ने नजिर तय भएको पनि अनुभूत गरेका छौं”, भन्ने बताएको छ ।