Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारजिल्ला स्तरीय टोलीबाट बेलडाँगी बजार अनुगमन

जिल्ला स्तरीय टोलीबाट बेलडाँगी बजार अनुगमन

डिकेश लामा

झापाको भूटानी शरणार्थी शिविर क्षेत्रमा रहेको बेलडाँगी बजारका २ दर्जन जति साईवर तथा मनिट्रान्सफर सम्बन्धी पसलहरुको मंगलबार जिल्ला स्तरीय बजार अनुगमन टोलीले जाँचचेक गरेको छ ।

दमक नगरपालिका वडा नं. ३ र ५ मा पर्ने बेलडाँगी १ र २ को बजार क्षेत्रलाई केन्द्रित गरी मंगलबार २१ वटा पसलमा अनुगमन भएको इलाका प्रशासन कार्यालय दमक शाखाका प्रमुख अधिकृत यज्ञप्रसादले बताए ।

बजार अनुगमनमा जुटेको टोली

अनुगमनको क्रममा ३ वटा पसलले आवश्यक कागजात देखाउन नसकेको, ८ वटा पसलले ट्रेडर्स मात्र दर्ता गरी साईवर संचालन गरेको र एउटा पसल खुदुनाबारी झापाको कागजमा समेत संचालन गरेको पाइएको अनुगमन टोलीमा सहभागी झापा जिल्ला आन्तरिक राजस्व कर-कार्यालयका अधिकृत खगेन्द्र दाहालले जानकारी दिए ।

बजार अनुगमनका क्रममा कागजात नपुगेका व्यवसायीलाई आज इलाका प्रशासन कार्यालय दमकमा आवश्यक कागजात लिई आउने सूचना समेत दिइएको इलाका प्रशासनका अधिकृत आचार्यले जानकारी दिए ।

बजार अनुगमन टोलीमा झापा जिल्ला साना घरेलु उद्योगका अधिकृत रुद्र कार्की, आन्तरिक राजस्व कार्यालय, झापाका अधिकृत खगेन्द्र दाहाल, इलाका प्रशासन कार्यालय, दमकका प्रमुख अधिकृत यज्ञप्रसाद आचार्य, इलाका प्रहरी कार्यालय, दमकका प्रहरी निरीक्षक मिलन भट्टराई, दमक उद्योग बाणिज्य संघका सदस्य दिनेश अग्रवाल लगायत संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

कागजात नभएका र स्पष्ट व्यवसाय नखुलेका व्यवसायीलाई एक साताभित्र सम्पूर्ण कागजात तयार गर्न टोलीले व्यवसायीलाई सुझाव समेत दिएको छ । एक साताभित्र करको दायरामा नआए व्यवसाय गर्दै आएका सरसामग्री प्रशासनबाट उठाइने सुझाव समेत दिइएको टोलीले जानकारी दिएको छ ।

पछिल्लो समय भूटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्स्थापनापछि विदेशबाट रेमिटान्स भित्रने र अन्य शिविरका शरणार्थीहरु बेलडाँगी क्षेत्रमा आउने क्रमसँगसँगै मनि ट्रान्सफर केन्द्र, साईवर, होटल तथा अन्य व्यवसायहरु खुल्नेक्रम तीव्र रुपमा बढेको छ ।

हाल बेलडाँगी क्षेत्रमा ३ दर्जनभन्दा बढी रेमिटान्स सम्बन्धी कारोवार गर्ने पसलहरु खुलेको बेलडाँगी साईवर तथा इन्टरनेट फोन मनि ट्रान्सफर संघले जानकारी दिएको छ ।

यसै गरी भूटानी शरणार्थी शिविरभित्र संचालन गर्दै आएका इन्टरनेट र रकम कारोवारलाई समेत तत्काल रोक्ने टोलीले जानकारी दिएको छ ।