झापाको दमक नगरपालिका स्थित युरोपियन युनियनको आर्थिक सहयोगमा निर्माण भएका दुम्से खानेपानी योजना र बेलडाँगी प्रहरी चौकीको मंगलबार उद्घाटन भएको छ ।
दुईटै योजना युरोपियन युनियनले युएनएचसीआरलाई २०११ देखी २०१४ सम्मकोलागी दिएको २,९५०,००० युरो (४०४,८६३,८९३ नेरु) को सहयोग रकमबाट सम्पन्न भएको हो । उक्त उद्घाटन कार्यक्रममा सरकारी उच्च अधिकारीहरु, सुरक्षा अधिकारीहरु, नागरिक समाजका प्रतिनिधिहरु, स्थानीय समुदाय, सञ्चारकर्मी, शरणार्थी समुदाय र शरणार्थीका लागि काम गर्ने संस्थाहरुको उपस्थिती रहेको थियो ।
नेपालका लागि युरोपियन युनियनका राजदुत महामहिम रेन्स्जे तिरिङ्क् र यूएनएचसिआर शाखा कार्यलय दमकका प्रमुख, सिन्जी कुबोले संयुक्त रुपमा उद्घाटन गर्नुभएको दुम्से खानेपानी योजनाले शरणार्थी र स्थानीय समुदायका करिब २०,००० मानिसलाई लाभान्वित गर्ने अपेक्षा गरिएको छ । मावा खोलाबाट पानी ल्याएर १०० क्यूविक मिटर क्षमता रहेको ट्यांकीमा भण्डारण गरे पश्चात पानीलाई प्रशोधन गरेर बेलडाँगी शरणार्थी शिविर र नजिकका गाउँहरुमा वितरण गरिन्छ । यस योजनाले स्थानीय समुदायहरुलाई खानेपानीका लागि एक घण्टा टाढा हिँड्नु पर्ने वाध्यता हटाइदिएकाले उनीहरुमा खुशी छाएको युरोपियन यूनियन र युएनएचसिआर सम्युक्त प्रेस विज्ञप्तीमा जनाएको छ ।
“युरोपियन युनियनले आर्थिक सहयोग गरेका कार्यक्रमहरु निकै नै महत्वपूर्ण छन, किन की यस्ता कार्यक्रमले भुटानी शरणार्थीमाझ रहेको संवेदनशील समुदायको आधारभुत अधिकार र आवश्यकताको प्रत्याभुती गर्दछ । युरोपियन युनियनले नेपालमा रहेका शरणार्थीको जीवनस्तर सुधार गर्ने विभिन्न कार्यक्रमहरुमा काम गर्दै छ र आगामी दिनहरुमा पनि निरन्तर गरिराख्ने छ,” नेपालका लागि युरोपियन युनियनका राजदुत महामहिम रेन्स्जे तिरिङ्क् ले बताए ।
दुम्से खानेपानी योजनालाई दुम्से खानेपानी तथा सरसफाई उपभोक्ता समिति (समुदायमा आधारित संस्था), हुम्से दुम्से सामुदायिक वन उपभोक्ता समुह र स्थानीय समुदायको उल्लेख्य सहयोग रहेको थियो । दुम्से खानेपानी योजनाको निर्माण यूएनएचसिआरले आफ्नो साझेदारी संस्था एलडब्लुएफमार्फत सम्पन्न गरेको हो ।
बेलडाँगी प्रहरी चौकीको उद्घाटन पुर्वाञ्चल क्षेत्रिय प्रशासक शंकर प्रसाद अधिकारी, नेपालका लागि युरोपियन युनियनका राजदुत महामहिम रेन्स्जे तिरिङ्क् र यूएनएचसिआर शाखा कार्यलय दमकका प्रमुख, सिन्जी कुबोले संयुक्त रुपमा गर्नुभएको थियो । प्रहरी चौकी निर्माण कार्यक्रम यूएनएचसिआरले पुर्वका स्थानीय समुदायलाई लाभान्वित गर्दै आएको निरन्तर सहयोगी कार्यक्रम अन्तर्गतको हो ।
“यूएनएचसिआर नेपाल सरकार र नेपालीप्रति दुई दशक भन्दा लामो समयसम्म शरणार्थीलाई आश्रय प्रदान गरिदेकोमा आभारी छ र यस उदारताको सम्मान स्वरुप, यूएनएचसिआरले स्थानीय समुदायलाई फाइदा पुग्ने कार्यक्रममा निरन्तर सहयोग गर्नेछ,” यूएनएचसिआर शाखा कार्यलय दमकका प्रमुख, सिन्जी कुबोले बताइन, ।
यूएनएचसिआरले एलडब्लुएफमार्फत करिब ६ महिनामा निर्माण सम्पन्न गरेको यस प्रहरी चौकीलाई नेपाल प्रहरीबाट पुर्ण सहयोग रहेको थियो । यस चौकी बनाउनका लागि स्थानीय समुदायले जग्गा दान गरेका थिए ।
नेपाल प्रहरीको मापदण्ड अनुसार निर्माण भएको यस प्रहरी चौकी भवनमा महिला र पुरुष प्रहरीका लागि बेग्लाबेग्लै ब्यारेक, प्रशस्त क्षेत्र भएको प्रतिक्षालय, आरामदायी कार्यालय, मेष र शौचालय रहेका छन ।
यूएनएचसिआरले यस प्रहरी चौकीलाई फर्निचर र कम्प्युटरका साथै गाडिको पनि सुविधा प्रदान गरेको छ ।
युरोपियन युनियनले निरन्तर रुपमा यूएनएचसिआरको नेपालमा रहेका भुटानी शरणार्थीको कार्यक्रमलाई सुरु देखि नै सहयोग गर्दै आएको छ । २०११ देखी २०१४ सम्मको सहयोग रकमपुर्वी नेपालमा बस्दै आएका शरणार्थीहरुको संरक्षण र आधारभुत आवश्यकताहरु जस्तै स्वास्थ्य तथा पोषण, शिक्षा, कानुनी सहायता, सरसफाई, आवास र खानेपानीमा खर्च हुँदै आएको छ ।
युरोपियन युनियन यूएनएचसिआरको मुख्य दाता मध्येको एक हो । युरोपियन युनियन मानविय र विकास सहयोगको मुख्य प्रदायक हुनुका साथै सहायता कार्यक्रमको प्रभावकारिता सुधार्न र विश्व समुदायमा समन्वयका लागि अन्तरराष्ट्रिय जगतमा निती नियम विकास गर्ने प्रमुख भुमिका निर्वाहा गर्दछ ।
निर्वाशित भूटानीहरूको लागी महत्वपुर्ण पुर्नवास कार्यक्रम जारी छ । अहिले सम्म करिब ८६,००० भुटानी शरणार्थीहरुले तेस्रो देशमा नयाँ जीवन सुरुवातका लागि नेपालमा रहेका शिविर छोडिसकेका छन ।