अस्ट्रेलियामा ‘कंगारूको देशबाट’ विमोचित

26644
1050
‘’कंगारुको देशबाट’ विमोचनका केही दृश्यहरु।

पदम काफ्ले
सिड्नी, अस्ट्रेलिया

अस्ट्रेलियाको मेलबोर्न सहरमा गत अस्टोबर १५ का दिन एक भव्य सांस्कृतिक कार्यक्रमका बिच ‘कंगारूको देशबाट’ नामक गजल सङ्ग्रह विमोचन गरिएको छ । अस्ट्रेलियाबासी भूटानी समाजका युवा गजलकारहरुको संयुक्त प्रयासमा उक्त गजल सङ्ग्रह प्रकाशनमा आएको हो । कृतिमा २५ जना गजलकारहरुको २०३ गजलहरु समावेश गरिएको छ ।

भूटानी सामाजको आग्रहलाई स्वीकार गर्दै नेपालबाट कार्यक्रममा आएका युवा साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई अन्य अतिथिहरुले कृति विमोचनमा साथ दिएका थिए । नेपालमा रहँदा भूटानी समाजसँग निकट रहेर साहित्यिक उत्प्रेरकको भूमिका खेलेका आङ्देम्बेले कृतिबारे चर्चा गर्दै भने, “यस कृतिको महत्त्व समयले बताउँदै जानेछ । नेपाली साहित्यको सेवामा अनवरत लागेका नेपालीभाषी भूटानीहरुको योगदान उच्चस्तरको छ।”

प्रमुख अतिथिको आसनबाट बोल्दै आङ्देम्बेले भूटानीहरुको भाषा-साहित्याप्रतिको लगावको उच्च मूल्याङ्कन गर्दै प्रश्न गरे,“वास्तविक नेपाली हुन के चाहिन्छ ? नेपाली जातिप्रति, संस्कृतिप्रति, भाषाप्रति, साहित्यप्रतिको योगदान या नागरिक हुँ भन्ने फगत भ्रम दिने नागरिकता नाम को कागजको खोस्टो ?”

कृति क्रिएटिभ सर्कल अस्टेलियाले प्रकाशनमा ल्याएको हो र कृतिको सम्पादन दुर्गा रिमालले गरेका छन् ।

Comments are closed.