न्यु ह्याम्सर – ‘अक्षरिका’ नेपाली न्युजलेटरले अमेरिकी नागरिकताको परिक्षाका प्रश्न-उत्तर नेपालीमा तयार पारेको छ । अमेरिकामा नजन्मेको र यहाँ बस्ने विचार भएको नेपाली-भाषीलाई सहयोग पुगोस् भनी यो तयार पारिएको हो ।
सामान्यतः अमेरिकी नागरिकता पाउन तपाईं स्थायी बासिन्दा भएको पाँच वर्ष हुनुपर्छ । भूटानी शरणार्थीको हकमा अमेरिका भित्रिएको पाँच वर्ष हुनुपर्छ । सो अवधि पुग्नुअघि ४ वर्ष ९ महिनामा नागरिकताका लागि आवेदन युएस सिटिजनशिप एन्ड इमिग्रेसन सरभिसेस् (युएससिआइएस) मा दिनुपर्छ । सन् २००८ मार्चमा अमेरिकामा भूटानी शरणार्थीको पहिलो समूह आएको हो । यो प्रश्न-उत्तर उहाँहरूलाई बढी लक्षित गरेर तयार पारिएको हो । सन् २०१३ जनवरी अन्तिमसम्म अमेरिकामा ६३ हजार ९ सय ७६ भूटानी पुनर्स्थापित भइसक्नुभएको छ ।
नागरिकताका लागि आवेदन दिएपछि युएससिआइएसका अधिकारीले आवेदकको अन्तर्वार्ता लिन्छन् । अंग्रेजी भाषाको साधारण परीक्षा र नागरिक-शास्त्रको परीक्षासमेतको नेचरलाइजेसन टेस्ट उत्तीर्ण गर्नुपर्छ ।
परीक्षामा प्रश्न अंग्रेजीमा सोधिनेछ र जवाफ पनि अंग्रेजीमै दिनुपर्नेछ । यसले नेपाली-भाषीलाई प्रश्न-उत्तर बुझ्न सहायता गर्नेछ ।
नागरिक-शास्त्रको परीक्षा इतिहास र सरकारसम्बन्धी हुन्छ । यसमा १ सय संभावित प्रश्न छन् । युएससिआइएसका अधिकारीले यी एक सयमध्ये १० प्रश्न सोध्छन् । नागरिकताका आवेदकले १० मध्ये कम्तिमा ६ प्रश्नको सही उत्तर दिनुपर्छ ।
युएससिआइएसले ती प्रश्न र उत्तरहरू विभिन्न तरिकाले आफ्नो वेबसाइट www.uscis.gov मा उपलब्ध गराएको छ । त्यस्तै वेबसाइटमै प्रश्न र उत्तरहरू सुन्न-मिल्ने तथा खेलेर पढ्न पाता-पातामा एकातर्फ प्रश्न र अर्कोतर्फ उत्तर भएको पनि पाइन्छ । युएससिआइएसले यस्ता सामग्री स्पेनिश र अन्य भाषाहरूमा प्रकाशित गरेको छ । तर नेपाली-भाषामा प्रकाशित गरेको छैन । ‘ज्ञान ज्योति केन्द्र’बाट प्रकाशित यो पुस्तिकामा अनौपचारिक नेपाली अनुवाद गरिएको छ । प्रत्येक प्रश्न र उत्तरहरूलाई सँग-सँगै राखिएको छ ।
यी प्रश्न-उत्तर ‘ज्ञान ज्योति केन्द्र’को यो लिंकमा उपलब्ध छ – http://www.gyanjyotikendra.
यी प्रश्नको अनुवाद ‘अक्षरिका’का सम्पादक राजेश कोइरालाले गरेका हुन् भने सम्पादन डग हलले गरेका हुन् ।