Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारअमेरिका : भूटान आफ्ना नागरिक लैजाउ

अमेरिका : भूटान आफ्ना नागरिक लैजाउ

जनसङ्ख्या शरणार्थी तथा बसाइ सराइ विभागका लागि अमेरिकी उप-सहायक विदेशमन्त्री केली क्लेमेन्ट्सले यस क्षेत्रका शरणार्थी र अन्य जोखिममा रहेका समुदायहरुका सम्बन्धमा मानवीय संरक्षण र सहयोगका विषयहरुबारे छलफल गर्न जेष्ठ १९ देखि २२ सम्म भूटान र जेष्ठ २२ देखि २३ सम्म नेपालको भ्रमण सम्पन्न गर्नुभयो ।

भूटानमा उप-सहायक विदेशमन्त्री क्लेमेन्ट्सले सरकारी नेताहरुसँग भेटी भूटानलाई आफ्नो लोकतान्त्रिक मूल्य मान्यता र मानव अधिकार प्रतिको प्रतिवद्धताको चिन्ह स्वरुप नेपालमा लम्बिएको अवस्थामा रहेको शरणार्थी स्थिति समाधानका लागि अविलम्ब सुस्पष्ट कदमहरु चाल्न आग्रह गर्नुभयो नेपालस्थित अमेरिकी दुतावासले आज जारी गरेको प्रेश वक्तव्यले जानकारी दिएको छ ।

यी फलदायक छलफलका क्रममा भूटान सरकारले भुटानी नागरिकताका लागि वैध दाबी भएका शरणार्थीहरुको स्वैच्छिक फिर्ता तथा पुनःसमायोजनका लागि कार्य विधिहरुबारे द्विपक्षीय वार्तामा सकेसम्म छिटो पुनः सहभागी हुन आफूले सन् २०११ एपि्रलमा नेपाल सरकारलाई राखेको प्रस्तावलाई पुनः जोड दियो ।

भूटान सरकारले यस मानवीय स्थितिलाई र विशेषगरी अति जोखिममा रहेकाहरुको अवस्थालाई मानवोचित र समयोचित ढङ्गले समाधान गर्न अन्य बाटाहरु पनि केलाउने कुरामा सहमति जनायो, दुतावासले जनाएको छ ।

यसका अलावा उप-सहायक विदेशमन्त्री क्लेमेन्ट्सले भूटान र नेपाल सरकार सहमतिमा पुगेपछि अमेरिकी सरकार र अन्तर्राष्ट्रिय समुदाय शरणार्थीहरुको फिर्ता र पुनःसमायोजनको व्यवस्थासम्बन्धी प्रकि्रयाका सम्बन्धमा सहयोग गर्न तयार रहेको कुरालाई जोड दिनुभयो ।

नेपालमा उप-सहायक विदेशमन्त्री क्लेमेन्ट्सले शिविरमा रहेका सबै शरणार्थीहरुको पुनर्वासको सम्बन्धमा र उनीहरुका लागि चीरस्थायी समाधानहरु पत्ता लगाउने कार्यमा प्राप्त सहयोगका लागि नेपाल सरकारलाई अमेरिकी सरकारका तर्फबाट प्रशंसा व्यक्त गर्नुभयो ।

उप-सहायक विदेशमन्त्री क्लेमेन्ट्सले भारत प्रस्थान गर्ने नयाँ तिब्बती आगन्तुकहरुको सुरक्षित पारवहनको सुनिश्चितताका लागि र नेपाल बसोवास गर्ने तिब्बतीहरुको आधारभूत अधिकारहरुको सम्मानका लागि अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई प्रशंसा व्यक्त गर्नुभयो दुतावासले जनाएको छ ।

त्यसैगरी उप-सहायक विदेशमन्त्री क्लेमेन्ट्सले नेपालमा रहेका राज्यविहीन व्यक्तिहरुको समुदाय प्रति अमेरिकी सरकारको चासो रहेको पनि व्यक्त गर्नुभयो ।