Saturday, April 19, 2025

We recently launched so if you see any technical glitches please email us at: [email protected]

Homeनेपालीसमाचारअमेरिकामा पुनर्स्थापितको संख्या ६५ हजार कट्यो

अमेरिकामा पुनर्स्थापितको संख्या ६५ हजार कट्यो

सन् २०१३ मार्च ३१ सम्ममा अमेरिकामा पुनर्स्थापित नेपाली-भाषी भूटानीको संख्या ६५ हजार कटेको छ । सन् २००८ मार्चमा थालिएको पुनर्स्थापना कार्यक्रम ५ वर्ष पुग्दा ६५ हजार ४ सय ४९ जना पुनर्स्थापित भइसकेका रेफ्युजी प्रोसेसिङ सेन्टरले जनाएको छ । पुनर्स्थापित भूटानीको पहिलो समूह सन् २००८ मार्चमा अमेरिका आएको हो । अमेरिकाले ८७ प्रतिशतभन्दा भूटानी पुनर्स्थापित गराएको छ ।

सन् २००८ मा ५ हजार ३ सय २०, सन् २००९ मा १३ हजार ४ सय ३२, सन् २०१० मा १२ हजार ३ सय ६३, सन् २०११ मा १४ हजार ९ सय ९९ र सन् २०१२ मा १५ हजार ७० भूटानी अमेरिकामा पुनर्स्थापित भइसकेका छन् ।

आर्थिक वर्ष २०११-१२ को अन्तिम (सन् २०१२ सेप्टेम्बर ३१) सम्म ६१ हजार १ सय ८४ भूटानीहरु पुनर्स्थापित भइसकेका थिए । अमेरिकी आर्थिक वर्ष अक्टोबर १ मा सुरु भई अर्को वर्षको सेप्टेम्बर अन्तिममा सकिन्छ । पछिल्लो आर्थिक वर्ष सन् २०११ अक्टोबर १ मा सुरु भएर सन् २०१२ सेप्टेम्बर ३१ मा सकिएको हो ।

क्यानडाले थप्ने

पूर्वी नेपालका थप एक हजार भूटानी शरणार्थीलाई क्यानडाले पुनर्स्थापित गर्ने भएको छ । क्यानडाका नागरिक तथा अध्यागमन मन्त्री जासन केन्नीले आगामी दुई वर्षभित्र थप एक हजार भूटानी शरणार्थीहरुलाई क्यानडामा पुनर्स्थापित गरिने बताएका छन् ।

यसो गर्दा क्यानडामा पुनर्स्थापित नेपाली-भाषी भूटानीको संख्या ६ हजार ५ सय हुनेछ ।

क्यानडाले सन् २००७ मे महिनामा पाँच वर्षभित्र पाँच हजार भुटानी शरणार्थी लैजाने घोषणा गरेको थियो । सन् २०१२ जुनसम्म पाँच हजार शरणार्थी क्यानडाले भित्र्याएको थियो ।

बाँकी ४१ हजारमध्ये ३१ हजार ३ सयले पुनर्वास रोजिसकेका छन् ।