Homeनेपालीसमाचारभूकम्पले एक जनाको ज्यान लियो, अरु चार घाइते

भूकम्पले एक जनाको ज्यान लियो, अरु चार घाइते

भारतको सिक्किममा केन्द्र रहेको ६.८ रिक्टर स्केलको शक्तिशाली भूकम्पले भूटानमा कम्तिमा एक जनाको ज्यान लिएको छ भने चार जना घाइते भएका छन् ।

पछिल्लो चोटी प्राप्त समाचारअनुसार भूकम्पमा परी छुकामा खोलाबाट पानी ल्याउने क्रममा एक जना ४३ वर्षीय महिलाको ज्यान गएको छ । उनी झर्दै गरेका चट्टानहरुको प्रहारमा परेकी थिइन् ।

प्रभावित क्षेत्रहरु

अरु चार जना घाइतेहरु उत्तरी भूटानको हा जिल्लाका बासिन्दा रहेका छन् । उनीहरुको नेसनल रेफरल हस्पिटल, थिम्पुमा उपचार भैरहेको छ । सख्त घाइते भएका तीन जना महिला भाषा तथा संस्कृति संस्थान, सिम्थोखाका विद्यार्थी भएको जनाइएको छ ।

भूकम्पका कारण पारोमा ताजोंगले केही संरचनात्मक क्षति बेहोरेको छ भने फुन्छोलिंगमा केही भवनहरु चर्किएका छन् ।

फुन्छोलिंगमा भू-क्षयले अस्पतालतर्फ गुड्दै गरेको एउटा कार पुरिदिएको छ । कारका चालक भने उम्कन सफल भएका छन् ।

दागानामा भूकम्पले लेजाब गाउँको फुन्सुम सामुदायिक प्राथमिक विद्यालयमा क्षति पुर्याएको छ ।

उता साम्चीमा करिव एक दर्जन घरहरुमा क्षति पुगेको छ भने बारामा केही घरहरु ढलेका छन् ।

छुकामा चार वटा विद्यालय, तीनवटा प्राथमिक स्वास्थ्य चौकी र तीनवटा आरएनआर केन्द्रहरु क्षतिग्रस्त भएका छन् ।

उता दागानामा दुईवटा आरएनआर केन्द्र, तीनवटा विद्यालय, पांचवटा सामुदायिक केन्द्र र एउटा प्राथमिक स्वास्थ्य चौकीमा क्षति पुगेको छ ।

सिक्किमको राजधानी गान्तोकदेखि करिव ६४ कि.मि टाढा प्रमुख केन्द्र रहेको उक्त भूकम्पले पूर्वी भारत, भुटान र नेपालमा धेरै जनाको ज्यान लियो, सैयौंलाई घाइते बनायो अनि असंख्य पूर्वाधारहरुमा क्षति पुर्यायो । फोनको नेटवर्कसमेत अवरुद्ध भएकाले यकिन विवरण अझैसम्म प्राप्त भैसकेको छैन ।

यसैबीच, प्रधानमन्त्री जिग्मी वाई थिन्लेले अरु सम्भावित प्रकोपहरुबाट भगवानले रक्षा गर्छन् भन्दै फेसबुकमार्फत देशबासीहरुलाई शान्त रहन आग्रह गरेका छन् ।