Homeनेपालीसमाचारनर्वेका भूटानीले उल्लाशकासाथ तीज मनाए

नर्वेका भूटानीले उल्लाशकासाथ तीज मनाए

एउटा विशेष कर्यक्रमकामाझ नर्वेका भूटानी महिलाहरुले हर्षोल्लाशका साथ तीज मनाएका छन् |

कार्यक्रम भिन्दाफ्योर्ड नगरपालिकाको ओलेन नगरमा भएको थियो,जहाँ चार परिवार भूटानीहरु बस्दछन् | “यो एउटा भेटघाट कार्यक्रम थियो | कार्यक्रम विशेषतः बालबच्चाहरुले आफ्नो संस्कृतिका बारेमा जानुन् भनेर आयोजना गरिएको हो,” कार्यक्रम आयोजक मध्येकी एक हेमा ढुंगेलले भूटान समाचार सेवासंगको फोन कुराकानीमा भनिन् |

कार्यक्रम सकेपछि फोटो खिचाउँदै सहभागीहरु | फोटो/चन्द्रा क्षेत्री

करिव एक दर्जन नर्वेली अतिथिसमेत गरी करिव चार दर्जन सहभागीहरुले नेपाली खाना, तीज नृत्य र तीज मनाउनुको औचित्य र महत्वसम्बन्धि वक्तव्यको मज्जा लिएका थिए |

“हामी चारवटा छुट्टाछुट्टै नगरपालिकामा छरिएकाले कार्यक्रम आयोजना गर्न निक्कै कठिन भयो तर हमीले कार्यक्रम सफल बनायौं”, अर्की एक सहभागीले गर्वका साथ भनिन् |

तीजलाई हिन्दु नारीहरुले नारी मुक्ति र गौरवको पर्वका रुपमा मनाउने गर्दछन् | यस पर्वलाई पौराणिक कालमा भएको भगवान श्री महादेव र पार्वतीको मिलनको कथासँग पनि जोडिन्छ | विवाहित तथा अविवाहित महिलाहरुले यस चाडलाई त्यागपूर्वक मनाउने गर्दछन् | चाडको प्रमुख दिन बुधबार मात्र भए पनि सहभागीहरुले सप्ताह अन्तको अवसर परी मनाएका हुन् |

तेश्रो देश पुनर्बास कार्यक्रम सुरु भएयता पश्चिम नर्वेको यस भागमा करिव सात दर्जन भूटानीहरु पुनर्बासित भइसकेका छन् |

भूटान समाचार सेवाकालागि नर्वेबाट रमेश गौतम