Homeनेपालीसमाचारबाल्टिमोरमा गोली चल्दा एक जना भूटानीको ज्यान गयो

बाल्टिमोरमा गोली चल्दा एक जना भूटानीको ज्यान गयो

बाल्टिमोरमा मंगलबार राती  भएको गोली प्रहारका दुईवटा छुट्टाछुट्टै घटनामा दुई जनाको  ज्यान गएको छ | बाल्टिमोर पुलिसले भनेको छ कि अन्य दुई जना सख्त घाइते भएका छन् |

पुलिसका अनुसार एक जना १७ वर्षीय यूवा जीउमा धेरै पटक गोली लागेको अवस्थामा फेला परेका थिए | उनलाई नजिकैको अस्पताल भर्ना गरिएको छ | उनको अवस्था गम्भीर भए पनि स्थिर रहेको पुलिसले जनाएको छ |

अर्का एक २० वर्षीय यूवा छातीमा एउटा गोली लागेको अवस्थामा एउटा घरको पछाडी फेला परेका थिए | पुलिसलाई उदृत गर्दै बाल्टिमोर सन.कमले उनलाई रातको १०:३२ बजे स्थानीय अस्पतालमा मृत घोषित गरिएको जनाएकोछ |

बाल्टिमोर प्रहरी प्रवक्ता केभिन ब्राउनले ती मृतक यूवा बिगबहादुर गुरुङ रहेको र उनी नेपाली आप्रबासी रहेको बताएका छन् | उनले भनेका छन् कि ती दुई जना यूवालाई डकैतीको निशाना बनाइएको हुनसक्छ |

उता बाल्टिमोर भूटानी समितिका सभापति केएन उप्रेतीले मृतक यूवा भर्खरै पुनर्बासित भूटानी भएको जनाएका छन् | भूटान समाचार सेवाले प्रतिक्रियाका लागि उप्रेतीसंग सम्पर्क गर्न पहल गरे पनि यो समाचार फाइल गर्दासम्म कुनै सम्पर्क हुन सकेको छैन | मृतक र घाइतेसम्बन्धि बिस्तृत जानकारीसमेत प्राप्त भइसकेको छैन |

गोली प्रहारकै अर्को घटनामा अर्का एक जना २४ वर्षीय यूवाको ज्यान गएको छ | उनी ओकफिल्ड एभिन्युका लि जोन्स III रहेको प्रहरीले जनाएको छ |